संसदीय व्यवस्थालाई असफल बनाउन चाहनेहरुले सरकारको विरोध गरेको लालबाबु पण्डित आरोप

Lalbabu pandit

काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद लालबाबु पण्डित संसदीय व्यवस्थालाई असफल बनाउन चाहनेहरुले सरकारको विरोध गरिरहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेता पण्डितले संसदीय व्यवस्थालाई असफल बनाउन खोज्नेले नै सरकारको विरोध गरेको टिप्पणी गरेका हुन् ।

सदनलाई गतिशिल बनाउन सरकारको भन्दा पनि सभामुखको भुमिका हुने उनको भनाइ छ। ‘संसदीय व्यवस्था, संसदलाई नै असफल बनाउन चाहनेहरुले जबरजस्ती सरकारको विरोध गरिहरेका छन् । सरकारले काम नदिएको भन्ने ? सदनलाई गतिशिल बनाउन सभामुखको विशेष भूमिका आवश्यक छ,’ उनले भने, ‘सदनको कारबाही कसले रोक्यो ? प्रधानमन्त्री कि मन्त्री ? कसले सदनलाई काम गर्न दिएन जानकारी दिनुपर्छ। एकतर्फी रुपमा सरकारले संसदले कुरा बुझ्न सकेन भन्ने ?’

प्रतिनिधिसभाको यो अधिवेशनले कुनै विधेयक पास गर्छ कि गर्दैन त्यो जनताले हेरिरहेको उनले बताए। उनले भने, ‘यो अधिवेशनले एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेको छन् । अहिले संसदभित्र ६५ वटा विधेयकहरु रहेका छन्, दुवै सदनमा गरी। कतिपय सन्धि सम्झौताहरु अनुमोदनका लागि पर्खिरहेका छन् ।’

नागरिकता विधेयक पास नहुँदा युवाहरुले आँशु झारिरहेको उनले बताए। उनले भने, ‘दोस्रो अधिवशेनदेखि नागरिकता संशोधन विधेयक रोकिएको छ। १६ लाख युवा नागरिकता नपाएर आँशु झारिरहेका छन् । संघीय निजामति ऐन विधेयक अल्झिएको छ। समितिहरुले सदनमा विधेयक पठाइरहेका छन् । तर प्रचार गरिँदैछ, मान्य सदस्यहरु नै भन्नुहुन्छ, संसदलाई सरकारले काम दिएन। संसदमा रहेको विधेयक काम होइन ? सन्धि सम्झौता काम होइन ?’

प्रतिकृया दिनुहोस