घरआँगनमै स्वास्थ्य सेवा पाएपछि दुर्गम भेगका स्थानीय खुसी

Health checkup1

रुकुम (पूर्व) । रुकुम पूर्वको सिस्ने गाउँपालिका–१ का नागरिकले घरआँगनमा पहिलो पटक विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । मुख्यमन्त्री ग्रामीण तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग र फेमस पोलिक्लिनिक त्रिवेणी गाउँपालिका रुकुम–पश्चिमको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरमा स्थानीयले सेवा पाएका हुन् ।

दुई दिनसम्म चलेको स्वास्थ्य शिविरबाट २२१ जनाले सेवा पाएका थिए । शिविरमा सेवा लिनेमा पुरुषभन्दा महिलाको संख्या दोब्बरभन्दा बढी रहेको छ । शिविरबाट ७० पुरुष र १५१ जना महिलाले सेवा लिएको कार्यक्रमका संयोजक लिलामणि गौतमले जानकारी दिए ।

शिविरमा भिडिओ एक्सरे गरिनुका साथै स्त्रीरोगसम्बन्धी सम्पूर्ण रोगहरुको जाँच तथा उपचार, मुटुरोग, रगत, मधुमेह, रगत, खकार जाँचसमेत गरिएको थियो ।

शिविरमा ८० जनाको भिडिओ एक्सरे गरिएको थियो । पाठेघरसम्बन्धी समस्या भएका नौ जनालाई नेपालगञ्ज रिफर गरिएको छ । उनीहरुको त्यहाँ निस्शुल्क उपचार गरिने छ । यस्तै दुई जनामा एचआईभी पोजिटिभ देखिएको छ भने एक जना हेपाटाइटिसका बिरामी फेला परेका छन् ।

शिविरमा सबैभन्दा बढी पाठेघर बाहिर निस्केका र सुत्केरी हुँदा पाठेघर च्यातिएर अहिलेसम्म पनि पानी र रगत बगिरहने समस्याका बिरामी भेटिएका उपचारमा सम्लग्न चिकित्सकले जानकारी दिएका छन् । एचआईभी पोजिटिभ देखिएका दुई जनालाई भने रुकुम(पूर्व अस्पतालमा रिफर गरिएको छ ।

शिविरमा स्त्रीरोग विशेषज्ञ डा. रामकुमार दास, जनरल फिजिसियन डा। अरविन्दकुमार यादवलगायत अन्य स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए । जिल्लाको दुर्गम क्षेत्रमा सञ्चालन गरिएको उक्त शिविर त्यहाँका नागरिकको लागि वरदान सावित भएको सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बरालले जानकारी दिइन् ।

सदरमुकाम आउन पनि हिँडेर एकदेखि दुई दिनसम्म लाग्ने त्यहाँका नागरिकलाई घरआँगनमै गएर स्वास्थ्य सेवा दिएपछि खुसी भएका छन् । निरन्तरको दुई दिनको पैदल यात्रापछि स्वास्थ्यकर्मीको टोली वडा नं १ को भट्टेचारैमा पुगेर शिविर सञ्चालन गरेको हो । औषधि पनि बोकेरै पुर्‍याइएको थियो ।

प्रतिकृया दिनुहोस