आज २९९ औँ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

Prithvi narayan shah

काठमाडौं । आज पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाह १७९९ मा गोरखाका राजा बनेका थिए ।

नेपाली सेनाले दिउँसो काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रम गर्दैछ । काठमाडौं, गोरखा, नुवाकोट लगायतका देशका विभिन्न ठाउँमा पृथ्वी जयन्ती मनाइँदैछ ।

सेनाले गोरखाबाट सुरु गरेको पदयात्रा पनि आजै सिंहदरबार अगाडि समापन गरिँदैछ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा गोरखाबाट काठमाण्डौसम्म हिँडेको बाटो हुँदै पदयात्रा गरिएको हो ।

पृथ्वीनारायण शाहले राजा बनेपछि सैन्यबलका साथै चातुर्य र कूटनीतिको सहयोगमा नेपाल एकीकरणको मूल जग बसाएको मानिन्छ । आधुनिक नेपाल निर्माणको जग बसाएको, दिव्योपदेशमार्फत राज्य सञ्चालनका लागि मार्गदर्शन गरेको लगायत योगदानका कारण स्मरण गर्ने गरिन्छ ।

देश विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने, घुस दिने र लिने दुवै देशका शत्रु हुन्, नेपाल दुई ढुंगाबीचको तरुल हो, जाइकटक नगर्नु झिकिकटक गर्नु, खेतीयोग्य जमिनमा बस्ती नबसाउनु भन्ने दिव्योपदेशको मर्म अझै पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद्हरुको भनाई छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वी नारायण शाहको उपदेशले राष्ट्रिय आत्मनिर्भरता हासिल गर्नका लागि आवश्यक सीप र क्षमता विकास गर्नुपर्ने खाँचोलाई दर्शाएको उल्लेख गरेकी छन् ।

पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति भण्डारीले आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सबै नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस