विकासदेखि विपद्का नाममा अनियमितता

Gaupalika zutzbnlzsr

काठमाडौं । सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार  दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार  सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण हो यो । यस गाउँपालिकामा विकासको बजेटदेखि विपद्को बजेटमा व्यापक अनियमितता भएको पाइएको छ ।

गत वर्ष चैत ११ गतेसम्म सात दिनका लागि सीमावर्ती क्षेत्र नियारमा राखिएको हेल्प डेस्कमा सिटामोल, जीवनजललगायत औषधि जिल्ला स्वास्थ्य कार्यालय राजविराजबाट उपलब्ध गराइएको थियो । त्यो बेला प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार रोकिएको थियो । गाउँपालिकाका अधिकृत महेश शर्माका अनुसार त्यो बेला एक रुपैयाँको पनि औषधि खरिद गरिएको थिएन तर औषधि खरिदमा ४ लाख ९८ हजार खर्च भएको विवरण तयार पारिएको छ ।

‘यो सरासर भ्रष्टाचार हो । यो पालिका भ्रष्टाचारमा चुर्लुम्मै डुबेको छ। नियामक निकाय अख्तियारलाई छानबिन गरी दोषीउपर कारबाहीका लागि बिन्ती गर्छु,’ अधिकृत शर्माले नागरिकसँग भने, ‘यहाँ कागजमा विवरण भरेर लाखौं रकम भ्रष्टाचार भएको छ ।’ उनले थपे, ‘यहाँको भ्रष्टाचारको रजगज देखेर नेपाल सरकारको कर्मचारी भन्न मलाई लाज लागिरहेको छ । कति भ्रष्टाचार भएको त्यो यकिन गर्ने मेरो अधिकार क्षेत्रभित्र पर्दैन तर व्यापक भ्रष्टाचार भएको दावाका साथ भन्छु ।’

छानबिनका लागि नियामक निकायलाई गुहार्दा दिक्दार भइसकेको गुनासो उनले गरे । ‘यस पालिकाको भ्रष्टाचार छानबिन हुनेगरी तथ्य बाहिर ल्याइदिनुस्,’ उनले भने ।

‘सेवा करारका कर्मचारीको पनि समायोजन हुन्छ भन्ने यस गाउँपालिकामा पहिलोपटक देखें,’ अधिकृत शर्माले भने, ‘विवरण खुल्ने र पुष्टि हुने कागजातबिनै यहाँ समन्वय समितिबाट पालिकामा करारका कर्मचारीलाई समायोजन गरिएको छ ।’ त्यही कर्मचारीका नाममा १ करोडभन्दा बढीको भुक्तानी चेक काटिएको छ, जुन काम कानुनी रूपमा गर्न मिल्दैन । अधिकृत शर्मा विष्णुपुर गाउँपालिकाबाट गत असोज १२ गते छिन्नमस्ता गाउँपालिकामा सरुवा भई आएका थिए ।

गत वर्ष चैत ३० गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा असार ३१ गतेदेखि कार्यालय आएका छैनन् । ‘उनी सरुवा भई अन्यत्र गइसकेको भए पनि कार्यालयको अभिलेखअनुसार उनले न रमाना लिएका छन्, न बरबुझारथ नै गरेका छन्,’ अधिकृत शर्माले भने। लेखापालले समेत बरबुझारथ र रमाना नलिएको शर्माले बताए। नागरिक दैनिकमा खबर छ ।

प्रतिकृया दिनुहोस