घुस खाएको र सरकारी पैसा हिनामिना गरेको आरोपमा चिनियाँ पूर्वबैंकरलाई मृत्युदण्ड

33001609900615

एजेन्सी । घुस खाएको आरोपमा चीनले पूर्व बैँकरलाई मृत्युदण्डको सजाय दिएको छ । चाइना हुआरोङ एसेट म्यानेजमेन्ट कम्पनीका पूर्व अध्यक्ष सियाओमिनलाई घूस खाएको र विवाहेतर सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएको हो ।

मंगलवार तियानजिन अदालतले मृत्युदण्डको सजाय सुनाउँदै लाइको सबै राजनीतिक अधिकार खोस्ने र सम्पत्ति जफत गर्ने फैसला गर्याेको बताइएको छ ।

उनले १० वर्षमा १.७९ अर्ब युआन घुसबापत् लिएको बताइएको छ । त्यतिबेला उनी नियामकका रूपमा पनि काम गरिरहेका थिए । अदालतले सिआओमिनले धेरै रकम घुस लिन आफ्नो पदको दुरूपयोग गरेको निष्कर्ष निकालेको छ । उनले मानिसहरूलाई जागिर दिन, बढुवा गर्न र ठेक्का पार्न पनि घुस लिने गरेका थिए ।

उनी विवाहोत्तर सम्बन्धमा पनि दोषी पाइएका छन् । उनले पत्नीबाहेक अर्की महिलासँग सम्बन्ध बनाएको र उनीबाट सन्तान पनि जन्माएको उल्लेख गरिएको छ । सिआओमिनले राज्य कोषबाट २ करोड ५० लाख युआन हिनामिना गरेको अदालतले बताएको छ ।

सिआओमिनलाई सन् २०१८ को अप्रिलदेखि अनुसन्धान थालिएको थियो । त्यही बेला उनलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट पनि निष्कासित गरिएको थियो । तियान्जिन अदालतले सिआओमिनले धेरैजसो अपराध सन् २०१२ को चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं सम्मेलनपछि गरेको जनाएको छ ।

उक्त सम्मेलनबाट सी चिनफिङ चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव चुनिएका थिए । पछि चीनको राष्ट्रपति चुनिएका उनले भ्रष्टाचारविरोधी अभियान नै चलाएका थिए ।

प्रतिकृया दिनुहोस