सडक बत्ती जडानको क्रममा करेन्ट लाग्दा एकको मृत्यु, एक घाइते

Dead body 860x573 yu4fnfyud3 12

भक्तपुर । जिल्लाको भक्तपुर नगरपालिका २ इटापाकोमा सडक बत्ती जडान गर्ने क्रममा एक्कासी करेन्ट लाग्दा मंगलबार एकजना मजदुरको ज्यान गएको छ । थप एक मजदुर गम्भीर घाइते भएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दोलखाको मेलुङ गाउँपालिका ५ घर भई हाल भक्तपुर नपा २ व्यासी बस्ने २३ वर्षीय रामकुमार बुढाथोकीको घटनास्थलमै मृत्यु भएको थियो । सिन्धुलीको कमलामाई नगरपालिका ११ घर भई काठमाडौंको बल्खुमा बस्ने २७ वर्षीय विक्रम मोक्तान भने गम्भीर घाइते भएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

मजदुरहरुले भक्तपुर नपाले ठेक्का दिएको सडक बत्ती जडान गर्ने कार्य गर्दै आएका थिए । उनका अनुसार मृतक बुढाथोकी करेन्ट लागेर खम्बामै अड्किएका थिए । मोक्तान भने करेन्ट लागेर सडकमा पछारिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उनका अनुसार गम्भीर घाइते मोक्तानलाई थप उपचारको लागि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको छ । मंगलबार दिउँसो घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली बिजुलीको लाइन काट्न लगाई एम्बुलेन्ससहित घटनास्थलमा पुगेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक गिरीले मजदुरहरुले सडकबत्ती जडान गर्न नेपाल विद्युत प्राधिकरणको सिमेन्टको खम्बामा अर्को धातुको खम्बा जडान गर्ने क्रममा अचानक नांगो तारमा छुन पुग्दा घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए।

काठमाडौंंको सानो भर्‍याङस्थित टप्सन इनर्जी प्रालिले सडक बत्ती जडान गर्ने भक्तपुर नपाको ठेक्का पारेको थियो। टप्सन इनर्जीबाटै खटिएका मजदुरहरु मंगलबार उक्त घटनामा परेको प्रहरीले जनाएको छ।

कुनै जानकारी छैनः भक्तपुर केन्द्र
नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रले भने आफ्नो मातहतको खम्बामा भक्तपुर नपाले सडक बत्ती जडान गर्दै गरेकोबारे कुनै जानकारी नभएको बताएको छ । केन्द्रसँग कुनै समन्वय नगरिँदा उक्त दुःखद घटना भएको केन्द्रले जनाएको छ ।

हामीलाई जानकारी नै नदिइकन भक्तपुर नपाको एकलौटी ढंगले कार्य गर्‍यो केन्द्र स्रोतले भन्यो, हामीसँग समन्वय गरेको भए यो दुःखद घटना हुने थिएन् । उसले सडक बत्ती जडान गर्न प्रसारण लाइन भएको त्यत्रो माथिसम्म पुग्नुपर्ने आवश्यकतै नभएकोसमेत बतायो । मजदुरहरुमा आत्मविश्वास थियो कुन्नि प्रसारण लाइनसम्मै पुगेर सडक बत्ती हाल्नै पर्ने थिएन् केन्द्र स्रोतले थप्यो, घटना हेर्दा काममा लापरवाही भएको देखियो ।

प्रतिकृया दिनुहोस