आज धेरै स्थानमा मौसम बदली, यी स्थानमा वर्षा र हिमपात विहीबारदेखि मात्रै मौसममा सुधार हुने

Himpat

काठमाडौं । पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै सक्रिय भएको पश्चिमी वायुको प्रभाव आगामी बिहीबारबाट मात्रै हट्नेछ ।

सोमबार बिहान उपत्यकामा छिटफुट वर्षा भए पनि दिनभर घाम लाग्न सकेन । साँझ बाक्लु हुस्सु देखिँदा सवारी आवतजावतमै समस्या उत्पन्न भएको थियो । बाक्लो हुस्सुको कारण उपत्यकाको जनजीवन सोमबार प्रभावित बन्यो ।

आइतबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशका धेरै ठाउँमा देखिएको र आगामी बिहीबारबाट खुल्ने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न।१ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार जुम्लामा हिमपातसहित २४ दशमलव ३ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ । यसैगरी वीरेन्द्रनगर, सुर्खेतमा ११ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । धनगढीमा ९ दशमलव ७ मिलिमिटर वर्षा भयो भने दीपायलमा ६ दशमलव ५ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

दिउँसो घाम नलागेका कारण चिसो बढेजस्तो महसुस भए पनि काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । १६ पुसमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री रहेकामा पुस १९ गते २.५ डिग्री सेल्सियस रह्यो । सोमबार भने न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।

मौसम बदलीका कारण काठमाडौंमा बाक्लो हुस्सु लागेको छ । सोमबार साँझ काठमाडौं उपत्यकाको भिजिबिलिटी एक हजार मिटरको छ । आइतबार भने भिजिबिलिटी ६ हजार मिटरको रहेको थियो । मौसम बदली भए पनि अहिले ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस