विश्वभर नयाँ कोरोना संक्रमितहरुको संख्या बढ्नुमा नयाँ रुप (D614G) जिम्मेवार रहेको खुलासा

New corona map

कोरोना भाइरसको नयाँ संक्रमितहरुको बढ्दो संख्याले विश्वलाई पुनः आतंकित बनाएको छ । अघिल्ला दिनहरुमा नयाँ संक्रमणका केसमा केही कम भए पनि पछिल्ला दिनमा नयाँ संक्रमितहरुको संख्या ह्वात्तै बढ्दा विश्व समुदाय पुनः आतंकित बनेको हो ।

यही कारण युरोपका कैयौं मुलुकहरु पुनः लकडाउन गर्नेतर्फ अघि बढ्न बाध्य भएका छन् । ईटली, स्पेन, ब्रिटेन लगायतका मुलुकका सरकारहरुलाई कोरोनाको नयाँ संक्रमण रोक्न चुनौती थपिएको छ ।

विश्वभरका कैयौं वैज्ञानिकहरुले जाडो मौसममा कोरोना संक्रमण झनै तीब्र बन्ने बताइरहेका छन । खासगरी कोरोना भाइरसको म्युटेशन अर्थात रुप बदल्ने प्रकृयाका कारण भयावह स्थितिको पुनरावृत्ति भएको हो ।

वैज्ञानिकहरुले पनि कोरोना भाइरसको म्युटेशन अधिक खतरनाक हुने बताउँदै आएका छन । अमेरिकामा हालै गरीएको एक अध्ययन अनुसार कोरोना भाइरसको म्युटेशनका कारण नयाँ संक्रमणका केसहरुमा बृद्धि भएको देखिएको छ ।

अमेरिकाको न्यु मेक्सिकोस्थित लस अल्मोस नेशनल ल्याब्रोटोरीका थ्यौरोटिकल बायोलोजिष्ट बेट्टे कोरबरले गरेको अध्ययन अनुसार विश्वभर नयाँ कोरोना संक्रमितहरुको संख्या बढ्नका लागि कोरोना भाइरसको नयाँ रुप अर्थात D614G जिम्मेवार रहेको खुलासा भएको छ ।

कोरोना भाइरसको यो नयाँ रुप पहिलो पटक चीनको वुहानमा अप्रिलको पहिलो साता भेटिएको थियो । कोरोना भाइरसको नयाँ रुप अर्थात D614G १० गुणा बढी संक्रमण फैलाउन सक्षम भएको अध्ययनले देखाएको छ ।

कोरोना महामारी फैलिएको सुरुवाती समयमा भाइरसको डी स्ट्रेनबाट अधिक मानिसहरु संक्रमित भएका थिए । तर मार्चदेखि यता विश्वभरका बिभिन्न मुलुकमा D614G स्ट्रेन फैलिएको हो । पछिल्लो समय बढेको कुल संक्रमणको एक चौथाई भाग यहि D614G का कारण भएको अध्ययनकर्ताहरुको ठहर छ ।

त्यस्तै मे महिनासम्म यसको फैलावटमा ७० प्रतिशतले बृद्धि भएको वैज्ञानिकहरुले बताएका छन । अहिले विश्वभर फैलिएको संक्रमण मध्ये ८५ प्रतिशत हिस्सा यहि D614G ले लिएको वैज्ञानिकहरुको तर्क छ ।

प्रतिकृया दिनुहोस