मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा ल्याइयो काठमाडौं

Dormani paudel

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको छ ।

बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

हेटौंडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं ल्याइएको हो ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको प्रेस संयोजक प्रकाश दाहालले बताए । पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुँदैछ ।

काठमाडौंमा राजनीतिक भेटघाट गरेर फर्किने क्रममा रुघाखोकीसहित कोरोनाको सामान्य लक्षण देखिएपछि बुधबार मुख्यमन्त्री पौडेलको स्वाब परीक्षण गरिएको थियो । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा ७३ वर्षीय मुख्यमन्त्री पौडेलको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

प्रतिकृया दिनुहोस