विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

Covid 19

विराटनगर । विराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणका कारण मंगलबार राति मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा राति ८ बजेतिर श्रेष्ठ थरकी महिलाको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि संक्रमित महिलालाई दिउँसो उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालका अनुसार विराटनगर –१५ मिल्स एरिया घर भएपनि मृतक महिला विराटनगर–११ स्थित माइतीमा बस्दै आएको खुलेको छ । स्वाब संकलन गरेर कोशी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षण रिपोर्ट महिलाको मृत्यु हुनुभन्दा केही बेरअघि मात्रै पोजेटिभ आएको थियो ।

विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको बताए । ‘सुरुमा श्वासप्रश्वासमा समस्या भएको भन्दै आफन्तले ल्याएपछि आकस्मिक कक्षमा राखेर उपचार थालिएको थियो,’ राठौरले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि शिक्षण अस्पतालकै आइसोलेसनमा भर्ना गर्न नपाइकन महिलाको आकस्मिक कक्षमै मृत्यु भएको हो ।’

विराटका कोभिड फोकल पर्सन डा. पुरु कोइरालाले ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएकी महिलामा निमोनियाको पनि समस्या थपिएको पाइएको बताए । ‘कोरोनासँग मिल्ने लक्षण भएपनि अन्तिम अवस्थामा बिरामी ल्याएकाले आइसोलेसनमा नलगिकन तत्काल आकस्मिक कक्षबाटै उपचार थालिएको थियो,’ उनले भने, ‘थप समस्या बढ्दै गएपछि भेन्टिलेटरमा राख्ने तयारी हुँदै गर्दा महिलाको मृत्यु भयो ।’

उनका अनुसार भर्ना गर्नुअघि बिरामीका आफन्तले कोरोना परीक्षणका लागि स्वाब दिएको जानकारी गराएका थिए । तर कोरोनासँग मिल्ने लक्षण देखिँदा पनि उपचारमा ढिलाई हुने भएकाले आइसोलेसनमा नराखिकन तत्काल आकस्मिकबाटै उपचार थालेर अन्तिम प्रयास गर्दासमेत बिरामीलाई बचाउन नसकिएको विराटका छात्ती रोग विशेषज्ञसमेत रहेका डा. कोइरालाको भनाइ छ ।

विराट शिक्षण अस्पतालले बिहीबारदेखि संक्रमितको उपचार गर्ने गरी ६० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । महिलाको मृत्युसँगै कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा दुई महिला र नौ पुरुष छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...