गोरखामा कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ३३ पुग्यो

Gorkha hospital 20

गोरखा । कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

गोरखा पालुङ्टारका ४४ वर्षीय पुरुषको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

पालुङटार नगरपालिका –७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना भएका ४४ वर्षीय पुरुषको शनिबार बिहान ५ः०५ बजे मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन् ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी थिए ।

पालुङटारमा भारतसहित विभिन्न ठाउँबाट २ सय ३ जनामा गरिएको स्वाब परिक्षण गरिएको छ । पालुङटारमा मृतकसहित ११ जना संक्रमण देखिएको छ । तीमध्ये एक जना प्रहरी हिरासतमा रहेको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले बताइन् ।

यहाँ १ सय ६९ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । हाल पनि ६० जना क्वारेन्टाइनमा छन् । उनीहरुको पनि श्वाब परिक्षण भइरहेको छ ।

 
 

प्रतिकृया दिनुहोस