प्रधानमन्त्री ओलीले किन बोलाए मन्त्रिपरिषदको आपतकालीन बैठक ? यस्तो छ कारण

Cabinet miting

काठमाडौं । पार्टीभित्र एक्लो बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बस्ने बैठकका एजेण्डाका विषयमा मन्त्रीहरुलाई जानकारी गराइएको छैन ।
एक मन्त्रीले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने वा संकटकालको अभ्यासका लागि बैठक बोलाएको हुनसक्ने जानकारी दिए ।

यसअघि बिहान प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग परामर्श गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेल, रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, राजनीतिक सल्लाहकार विष्णु रिमालसहित स्थायी कमिटीका अन्य नेताहरुसँग ओलीले बिहान छलफल गरेका हुन् ।

छलफलमा सहभागी एक नेताका अनुसार सकभर पार्टी विभाजनबाट रोक्न सुझाव दिइएको छ । आफूले दुवै पदबाट राजीनामा नदिने ओलीको अडान कायमै छ ।

ओलीमाथि महेश बस्नेतलाई लगाएर निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि आवेदन दिएको आरोप पनि लागेको छ । आजको स्थायी कमिटी बैठकमा ओलीले यी दुवै कुरामा केन्द्रित रहेर प्रष्टिकरण दिने तयारी गरेका स्रोतले जनाएको छ । बालुवाटारको छलफलपछि नेताहरु त्यहीँबाट सिधैँ प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

प्रतिकृया दिनुहोस