चक्रवाती आँधी ‘अम्फान’ ले लियो उग्र रुपमा, तीन दिनसम्म देशभरि बर्षा हुने

Weather nepal

काठमाडौं । बंगालको खाडीबाट उठेको चक्रवाती आँधी ‘अम्फान’ ले खतरनाक रुप धारण गरिसकेको छ । भारतीय मौसम विभागका अनुसार पश्चिम बंगाल र ओडिसा राज्यको तटीय क्षेत्रमा ठोक्किने चक्रवाती तुफान ‘अम्फान’ का कारण यी दुवै राज्य भर तिव्र गतिमा हावाहुरी चल्नेछ भने भारी बर्षा हुनेछ ।

सम्भावित जोखिमको पूर्वानुमान गर्दै भारतीय मौसम विभागले माछा मार्ने माझीहरुलाई आजैबाट समुन्द्री किनारामा जान रोक लगाएको छ भने पश्चिम बंगाल र ओडिसा राज्यमा हाई अलर्टको चेतावनी जारी गरिएको छ ।

भारतको कोलकतास्थित मौसम विभागका क्षेत्रीय निर्देशक जीके दासका अनुसार दुवै राज्यमा चक्रवाती तुफान अम्फानका कारण मंगलबार ५५ किलोमिटर प्रति घण्टाका दरले हावाहुरी चल्नेछ भने बुधबार ८५ किलोमिटरको गतिमा पुग्नेछ ।

भारी बर्षासहित आउने हावाहुरीको प्रकोपबाट बच्न राज्य सरकारले सबै तयारी पुरा गरिसकेको पश्चिम बंगालका मुख्य सचिव राजिव सिन्हाले बताए ।

नेपालमा पनि मंगलबारबाट पूर्वी नेपालको मौसममा बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवाती तुफान ‘अम्फान’ को प्रभावका कारण दुईदेखि तीन दिनसम्म देशभरि बर्षा हुने छ । हिमाली क्षेत्रमा हल्कादेखि मध्यम रुपमा हिमपात हुने भन्दै सचेत रहन मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस