भित्रीकोट दरबारका एक्ला रक्षक, जो बेतलवी ढाल बनेर संरक्षणमा सक्रिय छन्

Dhal bdr thapamagar pyuthan

प्युठान । प्यूठान नगरपालिका वडा नं. ४ का ७९ वर्षीय डालबहादुर थापामगरको उमेरले नेटो काटिसकेको छ । अर्थात् ७९ वर्ष पुगिसके । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ ।

शरीरमा तागत छैन । तैपनि उनी सडक छेउमा कहिले झारपात उखेलिरहेका भेटिन्छन् भने भत्किएको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका भेटिन्छन् । यो उनको दैनिकी नै बनेको छ ।

भित्रीकोट दरबारको छेउमै सानो झुपडी छ । त्यही उनी बास बस्छन् । यो ऐतिहासिक दरबार हेर्न मान्छेहरु आउने जाने गरिरहन्छन् । दरबार हेर्न आउनेहरुलाई डुलाउने जिम्मेवारी पनि यिनकै छ । अर्थात् भित्रीकोट पुग्नेहरुलाई उनैले डुलाई दिन्छन् ।

नेपाल एकीकरण हुनुअघिको ऐतिहासिक कालखण्डसँग जोडिएको भित्रिकोट तत्कालीन चन्दवंशी राजाहरुले राज्य गर्ने थलो थियो । भित्रीकोट राज्य, चौबिसे राज्य अन्तर्गतको शक्तिशाली मानिन्थ्यो । विसं १९९० को ठूलो भुकम्पले यो दरबार भत्कियो । जो अहिले भग्नावशेषमा बदलिएको छ । अहिले भग्नावशेष दरबारको रेखदेख थापामगरले गरिरहेका छन् ।

डालबहादुरको परिवारले तीन पुस्तादेखि दरबार रेखदेख गर्थे । उनका बाउबाजेले पनि हेरालुको काम गरे । अहिले डालबहादुर आफैँले दरबारको हेरचाह र संरक्षणको काम गर्दै आएका छन् ।

भित्रीकोट शक्तिको पीठ पनि भएकोले उनका सन्तानले धेरै पहिलेदेखि पूजापाठ गर्ने र हतियारहरुको संरक्षण गर्ने गर्दै आएका थिए । त्यो भूकम्पले दरवार ढलायो । त्यसपछि यहाँका हातहतियार पनि गायब बनाइन थाल्यो । कसैले पनि ख्याल गरेनन् । दरबारको अस्तित्व मेटिन थालेपछि संरक्षणको जिम्मेवारी उनको सन्तानलाई आएको थियो ।

तलव पाउने सपना !
उनले भित्रीकोट दरबारको रेखदेख गर्न थालेको पनि २० वर्ष भइसक्यो । यो अवधीमा पर्यटनकले आक्कलझुक्कल दिने सय÷पचास रुपैयाँबाहेक सरकारी तलव भनेर अहिलेसम्म उनले १ रुपैयाँ पनि बुझेका छैनन् ।

वर्षौदेखि दरबारको हेरचाह गर्दा र संरक्षणमा अनवर रुपमा लाग्दा सरकारले तलव पनि राम्रै दिन्छ भन्ने लाग्छ । तर, उनी र उनको पुस्ता कसैले पनि सरकारी तलव पाएनन् । ‘अहिलेसम्म कहिकतैबाट सेवा सुबिधा पाएको छैन’ डालबहादुरले निशान न्युजसँग भने, ‘खोइ अहिलेसम्म सुविधा दिन्छौ पनि कसैले भन्दैन, नदिए पनि पुस्तौंदेखि गरेको काम हो भनेर मैले हेरिरहेको छु ।’

जिल्लाको पहिलो नगरपालिका हो प्युठान नगरपालिका । नगर बनेपछि पारिश्रमिक स्वरुप तलबको व्यवस्था हुन्छ की भन्ने उनलाई लागेको रहेछ । तत्कालीन बिजुवार गाबिसले उनलाई हेरालुको जिम्मा दिएको थियो, त्यो पनि वेतलवी ।

‘हाकिम साबले पनि उ बेला बाजे, तपाईँलाई थोरैधेरै तलब दिउँला भनेर आश देखाएका थिए’, उनले भने, ‘यत्तिका साल काम गरेँ । खोई तलब दिने मेलोमेसो छैन ।’ सार्वजनिक स्थलको संरक्षणका लागि लाखौं खर्च गर्ने नगरपालिकाले २० वर्षदेखि बिना पारिश्रमिक काम गर्दा पनि उनको विषयमा केही गरेको छैन ।

अहिले उनको उमेर ढल्किँदै गएको छ । बुढ्यौलीका कारण जाँगर कम हुँदै गएको छ । काम गर्न पनि सक्न पनि छाडेका छन् । यस्तो बेला सरकारले केही गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ ।

प्रतिकृया दिनुहोस