नरैनापुरका मृतकका तीनै भाइ भारतको एक होटेलमा काम गर्थे

Narainapur quarentine covid 19

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका युवक नरैनापुर गाउँपालिकाको वडा नम्बर ५ को नयाँबस्तीका स्थानीय बासिन्दा ती युवक पछिल्लो पटक पाँच महिनाअघि मात्र रोजगारीका लागि मुम्बई गएको उनका काकाले बताएका छन् ।

मृतकका काकाका अनुसार १५ वर्षको उमेरदेखि नै मुम्बईको होटलमा काम गरिरहेका ती युवक यसपटक धेरै दिन मुम्बई बस्न सकेनन् । लकडाउनले गर्दा उनको होटल बन्द भएपछि उनलाई त्यहाँबाट निकालियो ।

ती युवकलगायत गाउँका अन्य थुप्रै युवा मुम्बईबाट कतै पैदल त कतै ट्रक ट्याक्टर गरेर एक साताअघि सिमानामा पुगेका थिए । वैशाख ३० गते उनलाई गाउँपालिकाको पहलमा भित्र्याएर दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो ।

सात वर्षअघि भारतको नासिरगन्जमा विवाह गरेका मृतकका एक छोरा र एक छोरी छन् । छोरा ५ वर्षका छन् भने छोरी ११ महिनाकी रहेको उनका आफन्तले बताएका छन् । मृतकका २ जना भाइहरू पनि भारतको दिल्लीमा होटलमा काम गर्दै आएकोमा एकजना केही दिनपहिले नेपाल आएका थिए भने अर्का भाइ अहिले सीमापारि आएर अड्किएको मृतकका काकाले बताए ।

नयाँबस्तीका अधिकांश बासिन्दा निकै गरिब र विपन्न रहेकोले त्यहाँका सबै युवा रोजगारीका लागि भारतमा जाने गरेका थिए ।

प्रतिकृया दिनुहोस