नयाँ नक्सामा समेटियो कालापानी र लिम्पियाधुरा, यस्तो छ नयाँ नक्सा

Kalapani logo

काठमाडौं । नेपालले लामो समयदेखि विवादमा रहेको कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरासहित समेटिएको नयाँ नक्सा जारी गरेको छ । नयाँ नक्सामा ७५३ वटै स्थानीय निकायहरू र प्रशासनिक इकाईहरू समावेश छ ।

पछिल्लोचोटि दुई वर्षअगाडि पनि संघीय स्वरुपमा सीमांकन गरेर प्रादेशिक विभाजन सहितको नक्सा आएको हो । तर लामो समयदेखि कालापानी लगायतका भूभाग भने नेपालको नक्सामा पर्न सकेका थिएनन् । सोही मौकाको फाइदा उठाउँदै भारतले नेपालको कालापानी, गुञ्जी, नाबी, लिम्पियाधुरा लगायतको क्षेत्रलाई आफ्नो बिर्ता ठान्दै आएको छ ।

आजदेखि लागू हुने नेपालको नयाँ प्रशासनिक नक्शामा भारतले अतिक्रमण गरेको कालापानीदेखि लिम्पियाधुरासम्मको भू–भाग समेटिएको छ । अबदेखि नेपालको दार्चुला जिल्लाको उत्तरपश्चिमको भाग कालापानी, लिपुलेक, गुन्जी, नाभी, लिम्पियाधुरासम्म फैलिएर चुच्चो देखिने छ ।

नापी विभागको प्राविधिक र नाप, नक्शा समितिको लामो समयदेखिको प्रयासपछि तयार पारिएको नक्शाको अन्तिम रुप आजै दिउँसो प्रधानमन्त्रीलाई देखाइएको थियो । प्रधानमन्त्रीबाट स्वीकृत दिएपछि औपचारिक स्वीकृतिका लागि आजै क्याबिनेट बैठकमा नक्शा पेश गरिएको थियो ।

विभागका नयाँ महानिर्देशक प्रकाश जोशीसहित प्राविधिक टोलीले तयार पारेको अन्तिम नक्सा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले क्याबिनेट निर्णयका निम्ति पेश गरेकी थिइन् ।

०३२ सालमा पुण्यप्रसाद ओली नापीको महानिर्देशक भएदेखि कहिले विकास क्षेत्र, कहिले अञ्चल र कहिले ७५ जिल्ला समेटिएको नक्सा जारी हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस