कोरोनाबाट मृत्यु भएपछि जलाइन्छ कि गाडिन्छ ? यसरी बनाइएको छ सरकारी कार्यविधी

Corona sab 1

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट कसैको मृत्यु नहुँदासम्म अन्य देशको कुरा सुनेर मात्रै धारणा बनाइन्थ्यो । तर बिडम्बना, शनिबार नेपालमै एक जना सुत्केरी महिलाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी साबित्री तिमिल्सिनाको मृत्यु भएपछि उनको शव व्यवस्थापन र आगामी दिनमा के गर्ने भनेर चर्चा शुरु भएको छ ।

मृत्यु भएको व्यक्तिको अन्तिम कर्म अन्य रोगी अर्थात् मृतकको जस्तो हुँदैन । सरकारले तयार पारेको कार्यविधि अनुसार शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य लगाउनुपर्छ ।

त्यसो त सरकारले यसअघि नै कोरोना भाइरसको महामारीबाट मृत्यु हुने मृतकहरुको शवको व्यवस्थापनका लागि कार्यविधि नै तयार गरेको छ । यस महामारीबाट अन्यमा संक्रमण नहोस् भन्नका खातिर मजबुत स्वास्थ्य सुरक्षा अपनाइन्छ ।

चैत्र २५ गते जारी उक्त कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) अनिवार्य प्रयोग गर्नुपर्छ । कार्यविधिमा मृृतकका आफन्तले शव हेर्न चाहेमा एक मिटरको दुरीबाट मात्र हेर्न पाउने उल्लेख छ ।

मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ । मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

शवको कुनै भागबाट रगत बगिरहेको भए होसियारीपूर्वक बन्द गर्नुपर्नेछ। मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिन्छ तर, सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्‍याउनुपर्नेछ ।

अन्तिम संस्कार गर्नु अघि आफ्नो कुल परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने गर्नुपर्छ । मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक–एक जनाले पालैपालो हेर्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस