‘ड्रग्स’को दलदलमा पर्यटन नगरी, किन यसरी फस्दैछन् युवा ?

Modling picture

पोखरा । हिप्पीहरुले पोखरेलीलाई पर्यटकको स्वागत सत्कार र होटल व्यवसाय मात्र सिकाएन, लागुऔषधको सर्को र डोज पनि सिकायो । हिप्पीहरुलाई निरुत्साहित गर्न २०३३ मा अमेरिकी सरकारको योजनामा लागुऔषध नियन्त्रण ऐन आएसँगै हिमाली चिसोमा लपक्क परेको गाँजाको सर्को तान्न आउने हिप्पीको संख्या पातलिँदै गयो । तर त्यो बेला छाँडेको लागुऔषधको स्वादले पोखरेलीलाई छाड्न सकेन । हिप्पीहरु त उक्किएर गए, लागुऔषधको डोजमा फँसेकाहरुको संख्या घटेन, अझ बढ्यो पोखरामा ।

पोखरामा लागुऔषधको जरो गडिनुमा हिप्पीहरुको आगमन र तिनको प्रभाव नै मुख्य भएको सुनाउँछन्, समाजशास्त्री विश्व सिग्देल । सन् १९६० को दशकमा पोखरामा हिप्पीहरुको आगमन बढेपछि गाँजा र चरेसको सौखिन पोखरेलीले अन्य लागुऔषधको स्वाद पनि चाख्न पाए ।

यसपछि लागुऔषध कारोबारीको नजरमा प-यो पोखरा । अनि परम्परागत गाँजा, चरेस, भुसाहा, कक्कडको स्थानमा गोटीहरुले लिन थाले। अहिले यो पोखरेली शहर नेपालमा लागुऔषध प्रयोगकर्ताको तथ्यांकमा दोस्रो स्थानमा छ ।

‘हिप्पीहरुकै कारण लागुऔषध सेवनमा लागेको अहिलेको तेस्रो पिँढी हो,’ समाजशास्त्री सिग्देल भन्छन्, ‘हिप्पीहरुले नै लागुऔषधको कारोबार गरे, गर्न सिकाए। उनीहरुसँगै बसेर पोखरेलीले पनि खान थाले ।’

काठमाडौं त लागुऔषध प्रयोगकर्ताका लागि स्वर्ग समान भइगयो । अन्तर्राष्ट्रिय बजारमा पाइने सेतो र खैरो हेरोइनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बन्ने निम्न कोटीको चक्कीसमेत सहजै पाइन्छ काठमाडौंमा। काठमाडौंमा बजार जमाएका कारोबारीको नजरबाट पोखरा कसरी जोगिन सकोस् र ! जोगिएन ।

पूर्वको वीरगंज, काँकडभिट्टा, दक्षिणको रक्सौल, नवलपरासी र सुनौली मात्र हैन पश्चिम नेपालगञ्ज अनि महेन्द्रनगरदेखिका लागुऔषध कारोबारी सक्रिय देखिएका छन्, पोखरामा ।

तथ्यांक हेर्ने हो भने अहिले पोखरामा सबै प्रकारका लागुऔषध पाइन्छ सहजै। गाँजा, चरेस, सेतो हेरोइन, खैरो हेरोइन डाइजिपाम, आइस्ड आफ्नो रोजाईअनुसार किन्न पाइन्छ ।

ज्यानमारा कालो पदार्थ
उत्तरी भेगबाट पोखरा महानगरमा आइपुग्ने ज्यानमारा ‘कालो’ पदार्थको कथा बेग्लै छ । लागुऔषध नियन्त्रण ब्युरो पोखरा शाखाको तथ्यांकअनुसार गाँजा, चरेसजस्ता लागुपदार्थ यहाँ उत्तरी क्षेत्र बागलुङ, म्याग्दी, पर्वतबाट भित्रिन्छन् ।

धादिङ र मकवानपुरको ग्रामीण भेगमा लुकिछिपी हुने व्यावसायिक खेतीको उत्पादन पनि यतै आइपुग्छ सडक मार्ग हुँदै। सिन्थेटिक ड्रग्स डिडिजेसिक, डाइजेपाम, ब्रुपिनर्फिन नेपाल–भारत खुला सीमा हुँदै मधेसमा भित्रिन्छ र नेपालका अन्य शहरमाझैँ गुड्दै पोखरा भित्रिन्छन् ।

‘कास्की देशभरमा तेस्रो धेरै लागुऔषध सेवनकर्ता भएको जिल्ला हो । विदेशी र स्वदेशीको समेत जमघट हुने भएकाले कारोबारी पोखरा केन्द्रित देखिन्छन्,’ लागूऔषध नियन्त्रण ब्युरो पोखरा शाखाका प्रमुख प्रहरी निरीक्षक टेकबहादुर राउत भन्छन्, ‘जहाँ धेरै सेवनकर्ता छन्, तिनलाई टार्गेट गरेरै लागुऔषध भित्रिन्छ नै ।’

लागुऔषध दुव्र्यसन नियन्त्रण लगायतका क्षेत्रमा काम गर्ने संस्था कम्युनिटी सपोर्ट ग्रुप, नेपालका कार्यकारी निर्देशक दिलिप गुरुङका अनुसार पोखराको सामाजिक संरचनाले समेत लागुऔषधका विक्रेतालाई सहज गराइदिएको छ ।

धेरैजसो युवायुवतीका अभिभावक विदेश बस्छन्। सन्तान यता आफन्त या होस्टलमा। खर्चको कुनै पिर हुन्न। पर्यटकीय क्षेत्र भएकाले सुरक्षा प्रबन्ध पनि त्यत्ति टाइट हुन्न। यही मेसोमा उनीहरु लागुऔषको दलदलमा फँस्दै गएका छन् ।

पार्सलमा भित्रिन्छ लागुऔषध
लागुऔषध नियन्त्रणमा प्रहरी जति सक्रिय हुन्छ, तस्करहरुको दिमाग उत्तिनै चल्छ। प्रहरी सक्रियतामा जति लागुऔषध समातिए त्यो संख्या पोखरा भित्रिएको तुलनामा अत्यन्तै न्यून हो ।

भारतीय सीमादेखि पोखरा ओसारपसार गर्नेहरु गाडी फेर्दै यात्रा गर्छन् । एउटा नाका कटेपछि अर्काे नाका कटाउन मोटरसाइकल प्रयोग गर्छन्। ठूलो मात्रामा लागुऔषध ओसारपसार गर्दा कतिले निजी सवारी साधन र कतिपयले ट्याक्सी समेत प्रयोग गर्ने गरेको अनुभवी प्रहरी बताउँछन्। सार्वजनिक सवारीका चालक र सहयोगीसमेत ओसारपसारमा संलग्न देखिएका छन् ।

भारतीय डिलरसँग सामान लिएर ओसारपसार र बिक्रीमा संलग्नहरुले हाल कारोबारमा मनी ट्रान्सफरको उपयोग गर्ने गरेका छन्। लागुऔषध पार्सलको रुपमा पोखरा भित्रिन थालेको छ । कास्की प्रहरीले हालै विशेष सुराकीको सहयोगमा लागुऔषधका कारोबारीलाई पक्राउ गरेको थियो। उनीहरुबाट यो नौलो शैली खुलेको थियो ।

‘प्रहरीले चेकजाँच गर्दा लागुऔषध कतै फालेर सुरक्षित हुन सजिलो भएकाले पनि यसको नियन्त्रण प्रभावकारी नदेखिएको हो,’ कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसी भन्छन्, ‘तर प्रहरी कार्बाही सुस्ताएको छैन ।’

सुईजन्य लागूऔषधको प्रकोप
फेनरागन, डाइजेपाम र नर्फिन मिसाएर बनाइने लागुऔषधमा दुव्र्यसनीहरुको आकर्षण बढी देखिन्छ । आर्थिक रुपमा प्राकृतिक अन्य लागुऔषधको तुलनामा यो सस्तो पनि छ । त्यसैले कुलतमा फसेका युवा पुस्ता प्रायः भारत हुँदै भित्रने यस्ता लागुऔषधको आदी बनेका देखिन्छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको त्रिवर्षीय तथ्याङ्कले पनि सुईजन्य लागुऔषधको बढ्दो दर देखाउँछ । आर्थिक वर्ष २०७३/७४ मा बुप्रिनर्फिन १ हजार २ सय ९७ थान बरामद भएको थियो । २०७४/७५ मा २ हजार ९ सय ८९ पुगेकोमा २०७५/७६ मा २ हजार १ सय ३६ थान बरामद भएको प्रहरी रेकर्डमा देखिन्छ ।

यस्तै २०७३/७४ मा डाइजापाम २ हजार १ सय ६६, २०७४/७५ मा २ हजार ९ सय ९८ र २०७५/७६ मा ६ हजार थान बरामद भएको छ । २०७३/७४ मा फेनेरागन १ हजार २ सय ९७ थान बरामद भएको थियो भने २०७४/७५ मा ३ हजार १९ र २०७५/७६ मा ५ हजार ९ सय ५६ थान बरामद भएको प्रहरी रेकर्डमा रहेको छ ।

केन्द्रीय तथ्यांक विभागले २०६९ मा गरेको अध्ययनअनुसार कास्कीमा ६ हजार ९ सय १७ लागुऔषध प्रयोगकर्ता थिए । जसमध्ये ५७ प्रतिशत सुईबाट लागुऔषध प्रयोग गर्ने थिए । लागुऔषध प्रयोगकर्ताको वृद्धिदर ११.३६ प्रतिशत थियो । त्यसअनुसार हाल कास्कीमा झन्डै १० हजार लागुऔषध प्रयोगकर्ता रहेको देखिन्छ। यो त सरकारी तथ्यांक भयो। लागुऔषध नियन्त्रणमा सक्रिय संस्थाहरुको तथ्यांक पत्याउने हो भने दुव्र्यसनीको संख्या ५० हजार नाघिसक्यो पोखरामा ।

कारागारभित्रै कारोबार
नौ सय थान लागुऔषधसहित देवीकुमारी गुप्ता जेठ २९ मा पोखराको अमरसिंहचौरबाट पक्राउ परिन् । भरियाबाट लागुऔषध बुझेर फर्कने क्रममा कास्की प्रहरीले देवीकुमारीलाई पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट डाइजापाम ३ सय, फेनेरागन ३ सय र नर्फिन ३ सय थान बरामद गरेको थियो ।

प्रहरीले सोधखोज गर्दा खुल्यो, उनका पति लागुऔषध मुद्दामै कास्की कारागारमा रहेछन्। प्रहरी त्यतिखेर झन् चकित भयो जब कारोबार कारागारभित्रैबाट भएको खुल्यो ।

देवीकुमारीका श्रीमान् उदयकुमार गुप्ता खुङ्खार लागुऔषध कारोबारी हुन् । त्यही मुद्दामा कारागार पुगे पनि उनले त्यसैलाई अड्डा बनाएर कारोबार सुचारु गरेका थिए ।

पक्राउपछि प्रहरीसँगको बयानमा देवीकुमारीले श्रीमान्को निर्देशनमा लागुऔषध कारोबार गरेको खुलाएकी थिइन्। उनका भाइ राजकुमार गुप्तासमेत लागुऔषध कारोबार मुद्दामा पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन् ।

देवकुमारीको पक्राउपछि सुरक्षित आर्थिक कारोबारका लागि लागुऔषध कारोबारीले रेमिटेन्सको प्रयोग गरिरहेको खुलेको थियो। प्रहरी बयानमा खुलेअनुसार उनले लागुऔषध किन्न जेठ १७ मा ३० हजार र जेठ २६ मा ६० हजार आइएमई रेमिटमार्फत् मुख्य कारोबारीलाई पठाएकी थिइन्। उनलाई श्रीमानले नै पैसा पठाउनुपर्ने व्यक्तिको नाम र ठेगाना दिन्थे र लागुऔषध बुझ्न लगाउँथे ।

लागुऔषध कारोबारलाई कारागारमै चम्काउने अर्का व्यक्ति हुन्, पवनकुमार सहनी। अपहरण मुद्दामा परेका उनी सात वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक हुन् । लागुऔषध ल्याउने जाँचोपाँचो उनी जेलबाटै मिलाउँथे । सहनीकी श्रीमती मनीषा अर्जेल बाहिर बसेर काम गर्थिन् ।

कारागारभित्रै उदयकुमार र पवनकुमारको चिनजान भयो । पवनकुमारकी श्रीमती मनीषाले भैरहवाबाट लागुऔषध पठाउने र देवकुमारीले पोखरामा लिने गर्न थालिन् । उनले पठाउने पैसा पनि मनीषाकै नाममा हुन्थ्यो। मनीषाले पोखराका सुगन नेपालीलाई लागुऔषध पठाउने गरेको अनुसन्धानमा खुल्यो ।

भारतका सीमावर्ती सहरमा लागूऔषध लिन पोखराका कारोबारी पहिला आफैं जाने गर्थे । प्रहरीले ठाउँठाउँमा जाँच गरेर पक्राउ गर्न थालेपछि ओसारपसारको रूप बदलिएको प्रहरीको ठम्याई छ । प्रहरी निरीक्षक राउत कारोबारीले भिन्नभिन्न ढंगले ओसारपसार गर्ने गरेको बताउँछन् ।

‘अहिले यताबाट पैसा ट्रान्सफर गर्ने र उताबाट सामान पठाउने गरेको पाइएको छ,’ उनी भन्छन्, ‘यस्तो काममा भरिया प्रयोग हुँदै आएका छन् ।’

अर्बौंको कारोबार
औषधिमा प्रयोग हुने नर्फिन, डाइजापाम र फेनरागन मिसाएपछि एक सेट लागूऔषध बन्छ । त्यसैलाई सुईमार्फत् प्रयोग गरिन्छ । भारतबाट एक सेट खरिद गर्दा तीन सय रुपैयाँ पर्छ । भारतमा सहजै पाइने ती औषधि कारोबारीले नेपाल भित्र्याउँन् ।

पोखराका डिलरले भारतीय सीमावर्ती सहर सुनौली, भैरहवा, वीरगन्जबाट एक सेटलाई ३ सय रुपैयाँमा खरिद गर्छन् । त्यही सेटलाई पोखरामा १ हजार ५ सय देखि २ हजारदेखि २ हजार ५ सय रुपैयाँसम्म लागुऔषध प्रयोगकर्तालाई बिक्री गर्छन् ।

केन्द्रीय तथ्यांक विभागले २०६९ मा गरेको अध्ययनअनुसार कास्कीमा ६ हजार ९ सय १७ लागुऔषध प्रयोगकर्ता थिए । जसमध्ये ५७ प्रतिशत सुईबाट लागुऔषध प्रयोग गर्ने थिए । लागुऔषध प्रयोगकर्ताको वृद्धिदर ११.३६ प्रतिशत थियो । त्यसअनुसार हाल कास्कीमा झन्डै ११ हजार लागूऔषध प्रयोगकर्ता छन् ।

तीमध्ये ६ हजारले दैनिक एकपल्ट एकसेट मात्रै लागुऔषध १ हजार ५ सय रुपैयाँमा किनेर प्रयोग गर्दा दैनिक ९० लाख रुपैयाँको कारोबार हुन्छ । त्यसो गर्दा एक वर्षमा ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको कारोबार हुन्छ । प्रहरीका अनुसार २ दिनमा एकपल्ट र एक दिनमै ५ देखि ७ पल्टसम्म सुईमार्फत् लागुऔषध प्रयोग गर्नेहरू पनि भेटिएका छन् ।

०६९ कै तथ्यांकलाई हेर्दा उल्लेखित सेवनकर्ताको ३० प्रतिशतले मात्रै प्रयोग गरे भने पनि त्यो संख्या २ हजार हुन्छ। यसलाई हिसाब गर्दा दैनिक ४० लाख रुपैयाँको कारोबार हुने देखिन्छ ।

गाँजाको कारोबार पनि उस्तै देखियो। उत्तरी भेगबाट आउने गाँजाको धुलो एक पुडियाको मूल्य ५ सय रुपैयाँमा बिक्री हुने गरेको पाइएको छ ।

कास्की कारागारमा लागूऔषध मुद्दामा १ सय ६३ थुनुवा र कैदी छन् । जिल्ला प्रहरी कार्यालयमा आउने मुद्दामध्ये धेरै लागूऔषधसँग सम्बन्धित छन् । उक्त तथ्यांक बढ्दो क्रममा छ । आर्थिक वर्ष ०७२/७३ मा ७३, ०७३/७४ मा ७५, ०७४/७५ मा १ सय ४० लागुऔषधका घटना दर्ता भएका छन्। चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म संख्या लागुऔषधसम्बन्धी मुद्दा १ सय ६४ पुगेको छ ।

तस्करका रुट
पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपि शेरचन राजमार्गलगायत अन्य भित्री बाटाहरु लागुऔषध तस्करका रुट हुन् । विभिन्न भित्री मार्गबाट पोखरा भित्रिने मात्र हैन, यहाँबाट काठमाडौं हुँदै बाह्य देशमा समेत लागुऔषध पुग्छ ।

‘पोखरामा लागूऔषध भित्रिने भनेको मुख्य नाका डाँडाकोनाक र छोरेपाटन नै हुन्,’ डिएसपी केसी भन्छन्, ‘त्यस्तो अरु कुनै निश्चित रुट छैन । यहाँबाट भित्रिने सबै सवारी साधनलाई चेकजाँच गर्न पनि सम्भव छैन । हामीले सकेसम्म भित्रिन नदिने रणनीति लिएका छौं। त्यहीअनुसार काम भइरहेको छ ।’

प्रहरी निरीक्षक राउतका अनुसार पनि पोखरामा लागुऔषध भित्रिने मुख्य नाका पृथ्वी राजमार्गको डाँडाको नाक र सिद्धार्थ राजमार्गको छोरेपाटन नै हो । यो बाहेक भूपी शेरचन राजमार्गबाट गाँजा र चरेस आउँछ ।

यहाँबाट भित्रिने सवारी साधनलाई एकएक गरेर निरीक्षण गर्न नसक्नु र लागूऔषध स–सानो परिणामा भएकाले पनि अनुगमनमा प्रभावकारी हुन नसक्दा भित्रिरहेको छ ।

‘लागुऔषध ओसारपसारमा महिला प्रयोग भएका छन्। सबै ठाउँमा महिला प्रहरी छैनन्। पुरुषले पूरै शरीर चेक गर्न गाह्रो हुन्छ,’ लागुऔषध नियन्त्रण ब्युरो पोखराका प्रहरी निरीक्षक राउतको अनुभव छ, ‘ब्राउन सुगर दुई चार ग्राम हुन्छ । कहाँ राख्छन्, कसरी ल्याउँछन् भन्ने पत्तो पाउनै सकिँदैन। त्यो सानो परिणाम भएकाले नियन्त्रणमा समस्या छ ।’

आक्रामक प्रहरी
पोखरामा लागुऔषध कारोबार वृद्धि भइरहेको भन्दै बेलाबखत कास्की प्रहरी आक्रामक पनि देखिन्छ । ट्रान्स पार्टीको नाममा समेत पोखरामा लागुऔषध कारोबार हुन्छ तर निरन्तरता पाउँदैन नियन्त्रण अभियानले । नयाँ प्रहरी प्रमुख आएसँगै अभियान तात्छ, अनि के हुन्छ कुन्नी बीचैमा सेलाउँछ ।

एसपी ओमबहादुर राना कास्की प्रमुख हुँदा ट्रान्स पार्टी हुने स्थानमा समेत छापा मारेका थिए । उनको सरुवापछि दानबहादुर कार्की प्रमुख भएर आए । उनी आएलगत्तै लागुऔषध नियन्त्रण भनेर वैशाख ३० देखि १२ बुँदे कार्ययोजना ल्याएका छन् ।

उनी आएलगत्तै कास्की प्रहरीले ३ महिलासहित २५ जना लागुऔषध कारोबारी र सेवनकर्तालाई पक्राउ ग-यो । पोखरा महानगरपालिका–१० को उत्तम चोकमा जेठ २९ मा लागुऔषधका कारोबारी र प्रयोगकर्ता समात्न गोली नै चलायो प्रहरीले ।

‘डिके’ जोन भनिने ३० वर्षीय गोविन्द थापालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको थियो। प्रहरीले ‘पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाएको’ दाबी गरे पनि घटना भने त्यस्तो देखिएको थिएन। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारपछि गोविन्द अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

थापा कतारमा लागुऔषध कारोबार आरोपमा ४ वर्ष जेल सजाय पाएर नेपाल आएको प्रहरीको दाबी छ तर गोविन्दको परिवार उनी प्रयोगकर्ता भए पनि प्रहरीले हल्ला गराएझैँ ठूलो कारोबारी भएको भने स्वीकार गर्दैन ।

प्रभावित क्षेत्रमा निगरानी
प्रहरीको तथ्यांक हेर्ने हो भने पोखराको सराङकोट, लामागाउँ, सिमपानी, बगर, लामाचौर, महेन्द्र गुफा, दीप, हेम्जा, बाग्लुङ बसपार्क, नदीपुरलाई खैरो हिरोइन, गाँजा, चरेश, नर्फिन, डाइजापाम, फेनारागन, लुपिजेसिक, ट्याब्लेटजन्य लागु पदार्थ प्रभावित क्षेत्र देखिन्छ ।

छोरेपाटन, लेकसाइड, खहरे, पामे, जरेवर, बसपार्क एरिया, मालेपाटन, पृथ्वीचोक, शान्तिवन, घारिपाटन, नयाँबजारलाई प्रहरीले विशेष प्रभाव क्षेत्रको सूचीमा राखेको छ। अमरसिंह, हस्पिटल क्षेत्र, फुलबारी, पेन्सनक्याम्प, टुटुङ्गा, नयाँगाउँ, सीताराम हाउजिङ, चाउँथे, रानीपौवा क्षेत्रलाई प्रभावित क्षेत्रको सूचीमा छ । अन्नपूर्ण सम्पूर्ण  साप्ताहिकबाट

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अब शिक्षकको पनि निजामती कर्मचारी सरह बढुवा

Teacher

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन् ...