विदेशबाट नेपाली फर्किने क्रम बढ्यो, शनिबार ५ वटा उडान हुने

Hwai sewa

काठमाडौं । पछिल्ला केही दिनयता विदेशमा रहेका नेपालीहरु फर्किने क्रम तीव्र रुपमा बढेको छ । आज पनि विदेशमा समस्यामा परेका नेपालीको स्वदेश ल्याउन ५ उडान हुने भएको छ ।

शनिबार मलेसिया, कतार, साइप्रस, बंगलादेश र कोरियाबाट नेपालीहरु स्वदेश फर्किंदै छन् । साइप्रस मलेसिया र कतारको दोहाबाट नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान भर्नेछन् भने बंगलादेशबाट हिमालय एअरलाइन्सले नेपालीलाई ल्याउने छ ।

भिषा अवधि सकिएका तथा नेपाल फर्किनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको बताइएको छ ।

तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेका मध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर भिषाको अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू शनिबार नेपाल फर्किदैछन् ।

कोरियाबाट बिदामा आएका, साथमा भिसाको अवधि भएका र श्रम स्वीकृति भएका नेपालीहरु फर्कन लागेको इपीएस कोरिया शाखाले जनाएको छ । साउदीको दमामबाट हुने भनिएको हिमालय एअरलाइन्सको चार्टर्ड उडान भने रद्द भएको छ ।

यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । यसका साथै नेपाल पुगेर अनिवार्य बस्नुपर्ने १४ दिनको क्वरेण्टीन र क्वरेण्टीन अवधि सकिएपछि घर पुग्नुपर्ने सम्पूर्ण खर्च स्वयंले बेहोर्नुपर्ने बताइएको छ ।

कोरियाबाट फर्किए नेपाली
कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आएर भिसा सकिएका २ सय २८ जना नेपाली शनिबार स्वदेश आइपुगेका छन् । उनीहरुलाई लिएर आएको कोरियन एयरको जहाज शनिबार बिहान ८ बजेर १० मिनेट जाँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

कोरियन एयरको जहाज यात्रुबिनै नेपाल जान लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका थिए । ईपीएसमार्फत कोरिया गएका ४ हजारभन्दा बढी नेपालीको भिसा सकिएको छ ।

कोरियाबाट नेपाल उड्दा कोरियन एयरको टिकट ३० देखि ५० हजार रुपैयाँसम्म पर्थ्यो । चार्टर गरिएको विमानमा नेपालीले एक लाख ५० हजार रुपैयाँसम्म तिरेका छन् । नेपाली दूतावासले केही समयअघि भिसा सकिएका एक हजारभन्दा बढी नेपालीको नामावली नेपाल सरकारलाई पठाएको थियो । त्यही नामावलीभित्रका नेपाली नागरिक शनिबार नेपाल आइपुगेका हुन् ।

दूतावासका अनुसार बिरामी, सुत्केरी र अन्य जटिल समस्यामा रहेकालाई प्राथमिकता दिइएको छ । अवैधानिक रूपमा बसेको अभियोगमा कोरियाका विभिन्न जेलमा रहेका १४ नेपाली पनि सोही उडानमा फर्किएका छन् ।

दक्षिण कोरियाली सरकारले अवैधानिक रूपमा बसेकालाई पक्रिएर डिपोर्ट गर्छ । डिपोर्ट गर्दा आपराधिक गतिविधिमा लागेको नभए तुरुन्तै पठाउने भनिए पनि कोरोनाका कारणले लामो समयदेखि उडान नहुँदा उनीहरू जेलमै थिए ।

प्रतिकृया दिनुहोस