नवराज, तिमी दलित भएरै मारिएको सत्य यदि राज्य व्यवस्थाले लुकाउँछ भने हाँस्दै स्वर्ग जानु

Nawaraj bk hatya

आइतवार विहान म लामो लकडाउनका कारण घरभित्रै थलिएको शरीरको साथले कम्प्युटर चलाइरहेको वेला पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीको घटना सुनेँ । त्यति मात्र नभई सोतीको घटनामा मेरो आमा मार्फत तिमीले कथित माथिल्लो जातकी केटी सँगको प्रेम युद्धमा साहदत प्राप्त गरेको दुःखद खवर पनि सुनेँ । दलित भएकै कारणले कथित माथिल्लो जातिकी केटी सँगको प्रेम सम्वधका कारण तिम्रो जीवनको लिला नै समाप्त भएको खवर सुन्दा म मानव युगमा छु कि दानव युगमा छु भनेर छुटयाउन गाह्रो भयो ।

तिम्रो प्रेम सफल पार्न साथैमा गएर मृत्यु भएका टीकाराम सुनार र वेपत्ता भएका अन्य ५ जनाको घटनाले झन मन निकै स्तब्ध भयो । जुन भुमिवाट २३८ वर्षको राजतन्त्र ढाल्ने उद्घोषका साथ जनयुद्धको सुरुवात गरिएको भनेर भनिएको थियो । त्यहि भुमिमा जातीय विभेदको हतियारले तिम्रो जीवनको अन्त्य भएको खवरले हास्ने कि रुने भनेर म दोधारमा परेँ ।

२१औँ सताब्दीको यो बेला पनि जंगली बर्बता र अमानवीयताको पराकाष्टा झल्किने गरि तिम्रो २१ वर्षे युवा जोश र ताकतलाई जातीय विभेदको विष वमनले नष्ट गरेको त्यो दुःखद घटना मेरा लागि मात्रै नभएर समग्र सभ्य समाजका लागि कहिलै नमेटिने कलंक भयो । आफैँसँग प्रश्न पनि गरेँ, तिमी गैरदलित भएको भए यो जंगली बर्बरताताको पराकाष्टा देख्न पाइन्थ्यो कि पाइदैनथ्यो ?

तिम्रो दुःखद अवसानको खवरपछि तिमी मेरो विद्यार्थी भएर मसँग बिताएका ती निकै यादगर दिनहरु र समयका पलहरु पनि न्यायपूर्वक सम्झदै धेरै कुरा सोच्न थालेँ । तिम्रो त्यो अनुशासीत व्यवहार, कक्षादेखि बाहिर जताततै भेट हुँदा निकै आदरपुर्वक सम्मानभाव प्रकट गर्ने तिम्रो स्वभाव अनि तिमीले जन्मजात मानव भएर प्राप्त गरेको अधिकार र्बबरतापूर्वक हरण भएको घटना विभिन्न कोणवाट निकै सम्झेँ ।

आइतवार बिहानैदेखि तिमी जीवन्त रुपमा मेरो आँखा वरिपरि स्कुल पढ्ने बेलाका निकै स्मरणीय गतिविधिहरुका साथ आइरहेका छौ । तिमीले आफनो जीवन र प्रेमको युद्धमा हारेर गयौं, या जितेर गयौं । त्यो सत्य तिम्रो दिवंगत आत्मासँगै सुरक्षित होला । तर मृत्युसँग हारेर गएका तिमीले छोडेर गएको एउटा भयानक लडाइ देखेर सोच्दै छु, नवराज तिमीलाई न्याय कसले देला ? यो लडाइमा कसको जीत होला ? यो देशमा तिम्रो अधिकार लेखिएको कानुन छ । तर तिम्रो लागि लडिदिने राज्य छ कि छैन यहाँ ?

तिम्रो अधिकारको लागि लडिएको क्रान्ति र संघर्षको सफल इतिहास छ । तर तिमीलाई न्याय दिने अदालत छ कि छैन ? तिम्रो दिवंगत आत्मा अनि तिम्रो वियोगमा काकाकुल बनेका तिम्रा निहत्था वावा आमासँग न्याय र शान्ति पाउने सम्वैधानिक हक छ । तर त्यो हक पाउने संविधान छ कि छैन ? तिमी र तिम्रा सर्वहारा वुवा आमाले मर्दै बाच्दै जोगाइदिएको राजनीति छ । तर तिमीहरुको लागि लडिदिने नेता छ कि छैन ? तिम्रो वुवा आमाले लेखेको उजुरी दर्ता गर्ने प्रहरी र अदालत छ तर न्याय दिने पटटी वाँधेकी देवी छन कि छैनन् ?

म दोधारमा छु नवराज । सर्वहाराको निम्ति सरकार हराउने देश, पीडितहरुको न्याय हराउने देश अनि सहारा बिहीनहरुको पीडामा कोहि पनि नबोल्ने देशमा कतै तिम्रो परिवारले खोजेको न्याय आकासको फल मात्रै हुने हो कि झै लाग्न थालेको छ । किनभने तिम्रो वुवाआमासँग धन छैन, ठूला नेतासँगको पहुँच छैन । अझै भनौँ भने तिम्रो वुवाआमासँग कोहि प्रहरीको सरुवा बढुवा गर्न सक्ने पावर छैन अनि तिम्रो पक्षमा न्यायपुर्ण बहस गराउने घुस पनि छैन । आज मैले मात्रै होइन, धेरैले प्रश्नहरु गरिरहेका छन् तिमी र तिम्रा वावाआमाले खोजेको न्याय र शान्ति भेटिएला त ?

विगतका केहि घटनाहरु र हाम्रो राज्य व्यवस्थाको निरीहता र सोतीको घटनालार्इ तुलना गरेर आफैँले आफैँलाई केहि प्रश्नहरु गरेँ । तिमी लगायत अन्य १८ जनामाथि बर्बरता देखाउने सोतीका स्थानीय हुन् कि हाम्रो राज्य व्यवस्थाले नियन्त्रण गर्न नसकेको अराजकता हो ? तिमी माथि निर्ममता देखाउने ती सोतीका जनता हुन कि राज्यले किताव भित्र लुकाएको कानुन् उपहास हो ?

तिमी लगायतका साथीहरु माथी क्रुरतापुर्वक लखेटी लखेटी आक्रमण गर्ने तिम्रो प्रेमिकाका वुवाआमा हुन् कि गणतन्त्रको बदनाम गर्ने कर्तुत हो ? अनि मानवता र सहानुभुति सुन्य देखाएर तिमी लगाएतका युवाहरुलाई दानवीय शैलीमा आक्रमण गर्न एकता देखाउने स्थानीयहरु हुन् कि हाम्रो शासन शैलीले सिकाएको दण्डहिनता हो ? हुन त नवराज तिमी मेरा यी निर्जीव अक्षर र शव्दहरुको आवाज सुन्न सक्ने अवस्थामा छैनौ । धेरैलाई लाग्न सक्छ तिमीले मृत्युसँग हारेर गएसँगै जीवनका सबै लडाइ बीचैमा छोडेर गयौँ । तर होइन तिम्रो मृत्युसंगै आफनो जीवन र नामको एउटा बहुत कठिन लडाइ सुरु गरेर तिमीले मृत्यु वरण गरेका छौं ।

अव त्यो लडाइ तिमीले जित्छौं या हार्छौं ? म यसै केहि भन्न सक्ने अवस्थामा छैन । तिमीले जीवनसंगै एउटा लडाइको रणभुमि छोडेर गएका छौ अब त्यो रणभुमिमा लड्ने पालो हामी बाँचेकाहरुको छ । लेखिएका सबै कितावहरु र गरिएका सबै वाचाहरुमा तिम्रो प्रेम र सपनाको जीत निस्चित छ । तर देखिएको सन्सार र भोगिएको जीन्दगीमा तिमीले यो लडाइ जित्छौं भन्नेमा मलाइ शंका मात्रै लाग्छ । तिम्रो मृत्युमा रुदै कराउँदै मुर्छित तिम्रा वुवा मोहनलाल र आमा उर्मिलाको चित्कारको एक सुइको पनि तिम्रो कानसम्म पुग्दैन, त्यो थाहा छ किन भने यहाँ जीउदा मानिसहरुको कानमा त त्यो पुग्न सम्भव छैन भने जीवन त्यागेको तिम्रो पार्थिव कानले त्यो सुन्ला भन्ने कल्पना म कसरी गर्न सक्छु र ?

वुवाआमाको एक्लो छोरो तिमी क्रुर प्रहारका बीचबाट सधैँका लागि विदाइ हुँदा तिम्रा वुवा आमालाई कति दुख्यो कति विझयो त्यो तिमीले उहाँहरुलाई छोडेर जाँदा अनुभुति गर्न पायौँ या पाएनौँ तिमीलाई नै थाहा होला । तर तिमी दलित भएरै मारिएको सत्य यदि यो राज्य व्यवस्थाले लुकाउँछ भने तिमी हाँस्दै स्वर्ग जानु । किन भने यहाँ जनताको शासन होइन, अपराधीहरुको शासन भएको प्रमाणित हुने छ । तिम्रो प्रेममा जातीय विभेदको पर्खाल हालेर तिमीलाई छेक्न खोज्नेहरुलाई यदि यो देशको कानुनले देख्दैन भने संविधान तिम्रो लागि बनेको रहेनछ भन्ने प्रमाणित हुने छ ।

यदि सोतीको बर्बरता आततायी र जघन्य हत्याको घटनालाई कानुन् र अदालतले देखेन भने तिमी जस्ता लाखौं सर्वहाराहरुको लागि न्याय मरेको प्रमाणित हुने छ । यदि तिम्रो मृत्युमा आँसुले पुरिएका तिम्रा वुवाआमाले न्याय र शान्ति पाउन सकेनन भने जनार्दन र शक्तिले सहिद र जनताको नाममा खाएको सपथ झुठो प्रमाणित हुने छ । त्यसैले मैले पर्खिरहेको छु प्रिय नवराज, तिमीलाइ न्याय कसले देला ? कुशेमालिकाबाट

प्रतिकृया दिनुहोस