नौ न्यायाधीशको दिनचर्या : हाजिर गर्ने, घर फर्किने

काठमाडौं । मुद्दा फैसलामा न्यायिक विचलनता देखिएको अभियोगमा न्याय परिषद्ले काजमा तानेका ११ मध्ये नौ न्यायाधीश हाजिर गर्ने घर फर्किने गर्छन् । चार महिना बितिसके पनि विभिन्न प्रकरणमा तानिएका न्यायाधीशबारे परिषद्ले अन्तिम निर्णय लिन सकेको छैन । ११ मध्ये दुई न्यायाधीशबारे परिषद्ले निर्णय गरिसकेको छ ।

अन्यको हकमा कुनै निर्क्योल निकालेको छैन । समयमा निर्णय हुन नसक्दा न्यायाधीशको काम हाजिरमा सीमित भएको छ। छानबिनकै चरणमा उच्च अदालतका दुई न्यायाधीशले अवकाश नै पाइसकेका छन्। अवकाश पाए पनि छानबिन प्रक्रिया भने रोकिने छैन ।  परिषद्ले ३३ किलो सुन प्रकरणको थुनछेक आदेशको विषयलाई लिएर उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित आठ जनालाई काजमा राखेको छ। सुरुवातमा माघ ४ गते परिषद्ले विराटनगरका पाँच न्यायाधीशलाई छानबिन प्रक्रिया अघि बढाउने निर्णय गर्दै काजमा राखेको थियो ।

लगत्तै मुख्य न्यायाधीश भुर्तेलसहित तीन जनालाई पनि काजमा झिकाएको थियो ।  परिषद्को काजमा डा।भुर्तेलसहित नगेन्द्रलाभ कर्ण, थीरबहादुर बम, शारङ्गा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौड्याल छन् । यस्तै, न्यायाधीशहरू साधुराम सापकोटा, जनक पाण्डे पनि परिषद्को काजमा छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँ पनि काजमै छन् । 

न्याय परिषदका प्रवक्ता मानबहादुर कार्कीले काजमा राखिएका न्यायाधीशमाथि विस्तृत अनुसन्धान जारी रहेको बताए । कार्कीले भने ‘अनुसन्धानका रिपोर्टहरू प्राप्त भइसकेका छन्। यी रिपोर्टबारे परिषद्ले विस्तृत रूपमा अनुसन्धान गरिरहेको छ । सफाइको मौका लगायतका प्रक्रियागत काम पनि चलिरहेका छन्। यकिनै गरेर यो मितिमा छानबिन सकिन्छ भन्न सकिन्न तर, अन्तिम–अन्तिम चरणमा छ । गोरखापत्रबाट 

 

प्रतिकृया दिनुहोस