समृद्धि र विकास अबको आवश्यकताः प्रधानमन्त्री ओली

सभ्यता र संस्कृति जोगाउँदै समृद्धि तर्फ देश अघि बढेको छ

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् । नेपाल स्काउटको आज यहाँ शुरु भएको स्काउट युवा सम्मेलन(रोभर मुट)को उद्घाटन गर्दै उनले राजनीतिक अधिकारको आन्दोलन सम्पन्न भएकाले अबको यात्रा समृद्धि र विकासका लागि भएको बताए ।     

देशको समग्र उन्नयनका लागि सङ्कृणताबाटमाथि उठ्नु अपरिहार्य भएको बताउँदै उनले राष्ट्र निर्माणका लागि कर्तव्यनिष्ठ र जिम्मेवार युवाको आवश्यकता रहेको उल्लेख गरे । युवाहरूको दक्षता, क्षमता अभिवृद्धिका साथै उनीहरूलाई कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने अभियान नै स्काउट रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले यो राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय रुपमा चलेको अभियान भएको बताए ।     

गौरवशाली पूर्खाको इतिहास र योगदानलाई अघि बढाएर तिनीहरूको संरक्षण गर्दै नयाँ निर्माणमा लाग्नुपर्ने आवश्यकता उनले औँल्याए । सभ्यता र संस्कृति जोगाउँदै समृद्धि तर्फ देश अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । देशलाई अस्थिर बनाउन एकतालाई भाड्ने शक्ति सक्रिय रहेको उल्लेख गर्दै उनले जातीय, क्षेत्रीय सङ्कुचनबाट सकारात्मक सोचका साथ माथि उठ्नुपर्नेमा जोड दिए ।     

स्काउटले युवामा सकारात्मक सोचका साथै उनीहरूका क्षमता, दक्षता अभिवृद्धि गराउन महत्वपूर्ण योगदान गर्दै आएको चर्चा गर्दै उनले राष्ट्र निर्माणमा अनुशासित र जिम्मेवार युवाको महत्वपूर्ण भूमिका हुने बताए ।     

     


प्रतिकृया दिनुहोस