गाउँलेलाई पेस्तोल देखाएर जबरजस्ती खोला उत्खनन गर्न बावुछोरा पक्राउ

जनकपुरधाम । बन्दुकको बलमा जबरजस्ती खोला उत्खनन गर्दै आएका तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुर बस्ने रामचन्द्र महतो र नीजको छोरा मनोज कुमार कुशवाहा र प्रमोद कुमार कुशवाहालाई अवैध बन्दुकसहित ईलाका प्रहरी कार्यालय ढल्केवरले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक थान अटोमेटिक चाइनिज पेस्तोल र एक थान नलकटुवा बन्दुक बरामद भएको ईप्रका ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

पक्राउ परेकाहरुले अवैध बन्दुकको बलमा गाउँलेलाई डर त्रास देखाएर जबरजस्ती खोला उत्खनन गरिरहेका थिए । गाउँलेले अवैध उत्खनन रोक्न जाँदा ती बावुछोराले बन्दुक देखाएपछि घटनाको जानकारी पाएका प्रहरीले उनीहरुलाई समातेका थिए । गाउँलेलाई धपाउन बन्दुक देखाएको बुझिएको छ ।

ती बाबुछोराको बटेश्वर गाउँपालिकामा रितिक नामक क्रसर उद्योग सञ्चालित रहेको छ । अवैध हतियारसहित पक्राउ परेका बावुछोरा यसअघि पनि अपराधिक क्रियाकलापमा संलग्नता खुलेको प्रहरी निरिक्षक राईले जानकारी दिए । उनीहरुलाई अवैध हातहतियार मुद्दा अन्तर्गत म्याद थप गरी थप कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिकृया दिनुहोस