यार्सा टिप्नेलाई अब १० लाख दुर्घटना बीमाको सुबिधा

दार्चुला । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलोपटक यार्सागुम्बा सङ्कलन गर्न पाटनमा जानेहरूका लागि दुर्घटना बीमाको सुविधा दिन लागेको छ । 

यार्सा पाटनका विभिन्न दुर्घटनाका कारण बर्सेनि यार्सा सङ्कलक तथा अन्य व्यक्तिको समेत ज्यान जाने गरेकाले यो वर्षदेखि १० लाख रुपियाँसम्मको दुर्घटना बीमा सुविधा दिइएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

बर्सेनि हिउँपहिरोमा परी, भीरबाट लडेर, नदीमा बगेर तथा लडाइँ झगडाका कारण पनि यार्सा पाटनमा कतिपयको ज्यान जाने गरेकाले बीमा सुविधा ल्याइएको संरक्षण अधिकृत मेहताको भनाइ छ ।

पाटनमा गई दुर्घटनामा परेर मृत्यु हुने यार्सा सङ्कलक, सुरक्षाकर्मी, संरक्षण क्षेत्र कार्यालय तथा पोस्टका कर्मचारी, व्यवस्थापन परिषद् पदाधिकारी, एक जना पत्रकार गरी जम्मा २० जनाको १० लाखका दरले बीमा सुविधा संरक्षण क्षेत्रले लागू गर्ने उनले बताए ।

यार्सा सङ्कलनका लागि दार्चुलाका यार्सा पाटनहरू यही जेठ १४ गतेदेखि खुला गरिएका छन् । यार्सागुम्बा सङ्कलन, व्यवस्थापन तथा ओसारपसार निर्देशिका २०७३ बमोजिम जेठ दोस्रो सातादेखि यार्सा पाटनहरू खुला गर्न सकिने व्यवस्थाअनुसार सबै पाटनहरू यार्सा सङ्कलनका लागि खुला गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए । 

अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेका यार्सा पाइने पाटनहरू खोलिएसँगै यी संरक्षण क्षेत्रअन्तर्गतका पोस्टहरूबाट यार्सा सङ्कलन अनुमतिपत्र वितरण कार्य पनि भइरहेको छ । वैशाख २५ गतेदेखि जिल्लाका करिब एकदर्जन पोस्ट तथा अस्थायी पोस्टबाट यार्सा सङ्कलन परिचयपत्र वितरण भइरहेको छ । 

हालसम्म करिब दुई हजार जनालाई यार्सा सङ्कलनका लागि परिचयपत्र वितरण भइसकेको अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाले जनाएको छ । परिचयपत्र वितरणबाट १० लाख रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको सूचना अधिकारी घिमिरेको भनाइ छ । 

विभिन्न यार्सा पाटनहरूबाट यो वर्ष करिब पाँच सय किलोग्रामको यार्सा सङ्कलन हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा ५५० किलोग्राम यार्सा निकासी भएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस