अब बारुदको गन्ध आवश्यक छैनः मन्त्री बाँस्कोटा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध जरुरी नभएको बताए ।

मन्त्री बाँस्कोटाले १२ औँ गणतन्त्र दिवसको अघिल्लो दिन आज रेडियो नेपाल र नेपाल टेलिभिजनद्वारा आयोजित विशेष जागरण गीत सम्मेलनका सहभागी र अतिथिलाई सिंहदरबारस्थित रेडियो नेपालको परिसरमामा सम्बोधन गर्दै सबैभन्दा ठूलो कुरा गणतन्त्रले सबैलाई नेपालमा पहिले कहिल्यै नभएको स्वतन्त्रता, स्वाधीनता र समान अवसर दिएको स्पष्ट गरे ।     

 उनले भने, “अब हाम्रा बस्तीमा बारुदको गन्ध जरुरी छैन, गणतन्त्रमा जनता नै मालिक हुने भएकाले जनताका अगाडि बन्दूक केही होइन ।” गणतन्त्रपछि बनेको पहिलो बहुमतको सरकारले गणतन्त्रलाई संस्थागत गर्ने र देशलाई प्रगतिको दिशामा उन्मुख गराउने नीति तथा कार्यक्रम ल्याएको स्मरण गराउँदै उनले भने ।

“रातारात मुलुक बन्दैन । आर्थिक परिवर्तन जति सजिलो छ, सामाजिक र सांस्कृतिक परिवर्तन गर्न उत्तिकै कठिन रहेकोले अब हाम्रो ध्यान त्यता जानुपर्छ ।” उनले अबको लडाइँ गरीबी समाप्त गर्ने, कृषि र शिक्षामा फड्को मार्ने र प्राप्त अधिकारलाई सुदृढ तुल्याउने हुनुपर्ने बताए ।     

 मन्त्री बाँस्कोटाले अहिले जनताबाट निर्वाचित सरकारले गणतन्त्र र परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको आधार तयार गरिरहेको जनाउँदै यो सरकार पनि असफल भए को आउने भन्ने स्पष्ट हुनुपर्ने जिकिर गरे ।

गत एक वर्षमा सरकारले संविधानअनुकूल नयाँ कानून र संरचना निर्माणमा समय व्यतीत गरेकाले अबको योजना र प्रयास समृद्धितर्फको यात्रा हुने उनले उल्लेख गरे । मन्त्री बाँस्कोटाले थपे, “जनताको रगत, आँशु र पसिना साटिएर आएको गणतन्त्र कसैले दिएको उपहार होइन ।

गणतन्त्र सत्तरी वर्षसम्म जनताले गरेको सङ्घर्षको प्रतिफल हो । अब मुलुकलाई अन्तरराष्ट्रिय मानकसँग गाँस्न आवश्यक छ । अब कोही पनि जनता भोकै बस्नु पर्दैन । कृषिमा क्रान्ति गरेर समृद्धिमा लाग्नुपर्छ ।”     

प्रतिकृया दिनुहोस