ल्याप्टप र नगदसहित विद्यार्थी पुरस्कृत

दोलखा ।  एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने कालिञ्चोक माविका विद्यार्थीहरुले ल्यापटप र जनही २५ हजार नगद पाएका छन् । अमेरिकास्थित सुजन(परिता एजुकेशन फाउन्डेशनले दुई जना उत्कृष्ट विद्यार्थीलाई ल्यापटसहित जनही २५ हजार नगद र थप चार जना विद्यार्थीलाई जनही २५ हजार नगद पाएका हुन् । 

कालिञ्चोकबाट एसईईमा उत्कृष्ट अंक ल्याइ उक्त विद्यालयका ११ कक्षामा भर्ना भएका छ जना विद्यार्थीलाई फाउन्डेशनका संरक्षक कृष्णानन्द न्यौपाने र भारती न्यौपानेले नगद र जिन्सी हस्तान्तरण गरे । महेश गुरुङ र गौरव भुजेलले ल्यापटप र नगद प्राप्त गरे । विशाल अधिकारी, रुपा खड्का, सुजिता बराल, विपना अधिकारीले जनही २५ हजार प्राप्त गरे ।

हाल अमेरिकामा व्यवसाय सञ्चालन गर्दै आएका सुजन न्यौपाने र उनकी श्रीमती परितालेले स्थापना गरेको फाउन्डेशनले सन् २०१५ देखि नेपालका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई सहयोग कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

 दोलखाको कालिञ्चोक र सिन्धुपाल्चोकका सन्सारीमाई माविका बालबालिकालाई ल्यापटप र कम्प्युटर वितरण कार्यक्रम सञ्चालन गर्दै आएको फाउन्डेशनका संरक्षक कृष्णानन्द न्यौपानेले बताए । उनी दोलखा जिल्ला अदालतका पूर्वन्यायाधीश हुन् ।

 आफ्नो छोराबुहारीको सक्रियतामा स्थापित फाउन्डेशनलाई नेपाली विद्यार्थीको हितमा अझ बढी क्रियाशील बनाउने उनले कार्यक्रममा जानकारी दिए ।


बिहीबार कलिञ्चोक माविमा आयोजित कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले शिक्षा क्षेत्रमा फउन्डेशनले वर्षेनी गर्दै आएको छात्रवृत्ति वितरण कार्यको सरहना गरे । 

भीमेश्वर नगरले शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै वर्षेनी कुल बजेटको २५ प्रतिशत रकम शिक्षामा खर्चदै आएकाले सुधारका केही संकेत देखिएको दाबी गरे ।

 कालिञ्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले उक्त छात्रवृत्ति र ल्यापटप वितरण कार्यक्रमले विद्यार्थीहरुको मिहेनतमा वृद्धि भएको बताए ।


फाउन्डेशननले आमेरिकामा आफ्नो व्यवसायको आर्जनबाट आएको नाफामध्ये वर्षेनी पाँच प्रतिशत नेपालमा खर्च गर्ने लक्ष्य राखेको संस्थापक सुजन न्यौपानले बताए । उनले सुरुमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गरेर कार्य प्रारम्भ गरेको जानकारी दिए ।


प्रतिकृया दिनुहोस