मान्छेकै कारण पृथ्वीका १० लाख प्रजाति संकटमा

काठमाडौँ ।  संयुक्त राष्ट्रसंघको ताजा प्रतिवेदनले मानव गतिविधिका कारण पृथ्वीमा १० लाख जीव तथा वनस्पतिका प्रजाति लोप हुने खतरामा रहेको तथ्य सार्वजनिक गरेको छ । प्रतिवेदनले पृथ्वीमा रहेका करिब २५ प्रतिशत जनावर तथा बोटबिरुवा लोप हुने खतरामा रहेको प्रक्षेपण गरेको छ । 

विश्वको जैविक विविधताबारे राष्ट्रस‌घले गरेको यो अहिलेसम्मकै पहिलो बृहत् अध्ययन हो । प्रतिवेदनले मानवीय क्रियाकलापले प्रकृतिले आजसम्मकै खराब अवस्था बेहोर्नु परिरहेको पनि बताएको छ । प्रतिवेदनले खाद्यान्न तथा ऊर्जाको अत्याधिक मागका कारण प्रकृतिमा विनाश भइरहेको निष्कर्ष निकालेको छ । 

फ्रान्सको पेरिसमा सोमबार सार्वजनिक ‘इन्टरगर्भेमेन्टल साइन्स–पोलिसी प्लेटफर्म अन वायोडाइभर्सिटी एण्ड इकोसिष्टम सर्भिसेज (आइपीबीईएस)’ को यो तयार पार्न तीन वर्ष लगाइएको थियो । 

१०९ देशका अधिकारीद्वारा अनुमोदित यो अध्ययन १८ सय पृष्ठ लामो छ । प्रतिवेदनमा १५ हजार सन्दर्भ सामग्री छन् । “हामीले पृथ्वीमा भएका जीवनको अवस्थाबारे नाटकीय रुपले पुर्नसंगठित गरेका छौँ” पत्रकार सम्मेलनमा इण्डियाना विश्वविद्यालयका सह–अध्यक्ष एडुआर्डो ब्रोण्डिजियोले भने । 

प्रतिवेदन अनुसार पृथ्वीमा रहेका प्रजातीहरूमा हुने हानीको दर पहिलेभन्दा दशौँ देखि सयौँ गुणा बढीरहेको छ । जमिनमा पाँचलाख भन्दा बढी प्रजातीहरुको लागि ‘लामो समय बाँच्ने पर्याप्त प्राकृतिक वासस्थान’ नै छैन । आवासको व्यवस्था नभएमा दशक भित्र उनीहरु विलुप्त हुने अवस्थामा छन् । समुद्रमा पनि उही अवस्था छ । 

वैज्ञानिकहरूका अनुसार, यो क्रमलाई रोक्न सकिने भएपनि तर त्यसका लागि मान्छेले प्रकृतिप्रति गर्ने व्यवहारमा आमूल परिवर्तन गरिनुपर्ने प्रतिवेदनले औँल्याएको छ ।

प्रतिवेदनमा मानवीय क्रियाकलापका कारण हाम्रा बालीनालीमा परागसेचन गराउने मौरीदेखि पानी सञ्चित गर्ने जङ्गलसम्ममा क्षती पुर्‍याइरहेको बारेमा उल्लेख गरेको छ । प्रतिवेदनले इतिहासदेखि पृथ्वी मान्छेकै कारण मारमा परेको जनाएको छ । पछिल्लो ५० वर्षमा ती चोटहरू ठूलो घाउको रूपमा परिणत भएको प्रतिवेदनमा भनिएको छ । 

सन् १९७० यता विश्वको जनसंख्या दोब्बर भएको छ, विश्व अर्थतन्त्र चार गुणाले बढेको छ, अन्तर्रा्ष्ट्रिय व्यापार १० गुणाले बढेको छ ।

बढ्दो विश्वलाई गाँस र कपास तथा ऊर्जा पुर्‍याउनका निम्ति खासगरी उष्णप्रदेशीय क्षेत्रका वनलाई आश्चर्यलाग्दो गतिमा विनाश गरिँदा सन् १९८० देखि २००० को अवधिमा १० करोड हेक्टर वन मासिएको प्रतिवेदनमा उल्लेख छ । 

तीव्र गतिमा बढिरहेका शहरहरु सन् १९९२ देखि दुई गुणाले बढिरहेको जनाइएको छ । त्यसैले पनि ठूलो संख्यामा प्रजातिहरु मरिरहेको प्रतिवेदनले जनाएको छ । 

“मान्छेले प्रकृतिमा प्रहार गरेर आफ्नै भविष्यमा संकटमा पारिरहेको छ”, प्रतिवेदन सार्वजनिक भएपछि एपीसँग कुरा गर्दै जैविक विविधताका पिता मानिने अमेरिकास्थित जर्ज मासन विश्वविद्यालयका जीवशास्त्री थोमस लभजोयले भने । 


 

प्रतिकृया दिनुहोस