नीति तथा कार्यक्रम माथिको छलफल आज सकिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने

काठमाडौं । आर्थिक वर्ष ०७६/०७७ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथिको छलफल आज सकिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ संसदमा उपस्थित भएर दिँदैछन् ।

नीति तथा कार्यक्रममाथि संसद्मा भएको छलफलका क्रममा उब्जिएका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिने प्रचलनअनुसार प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर त्यसबारे प्रष्ट पार्न लागेका हुन् ।

विपक्षीले नीति तथा कार्यक्रमको आलोचना गरेका छन् भने सत्तापक्षले बचाउ गरेका छन् । विपक्षीले खासगरी राष्ट्रपतिले प्रयोग गरेको ‘मेरो सरकार’ पदावली र संविधान सर्वस्वीकार्य भएको शब्दावलीप्रति आपत्ति जनाएका छन् । नीति तथा कार्यक्रममा नयाँपन आउनु पर्ने भए पनि त्यसो नभएको तर्क गर्दै कांग्रेस लगायतका दलले ६ वटा संशोधन दर्ता गराएका छन् ।

गत शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी थिइन् । प्रधानमन्त्रीले आज विपक्षीले उठाएका यिनै प्रश्नहरुको सेरोफोरोमा रहेर जवाफ दिनेछन् । प्रधानमन्त्रीले जवाफ दिएपछि आवश्यक संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने संसद्को कार्यसूची छ ।

प्रतिकृया दिनुहोस