अन्ततः विराटनगर बन्यो प्रदेश १ को स्थायी राजधानी

विराटनगर । लामो समयको रस्साकस्सीपछि प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेश सभामा भएको मतदानबाट विराटनगरलाई प्रदेश एकको स्थायी राजधानी तोकिएको हो ।

राजधानी तोकेसँगै प्रदेश १ को तेस्रो अधिवेशन सकिएको छ । प्रदेश एकको नाम के राख्ने भन्नेबारेमा भने अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

प्रदेश सभामा खसेको ९३ मतमध्ये विराटनगरलाई राजधानी बनाउने पक्षमा ८६ मत खसेको थियो । सत्तापक्ष नेकपा र प्रतिपक्ष कांग्रेसले प्रस्ताव पेस गरेकोमा कांग्रेसले प्रस्ताव फिर्ता लिएको थियो । 

विराटनगरलाई राजधानी तोकिएपछि विराटनगरमा आह्वान गरिएको बन्द पनि फिर्ता भएको छ । विराटनगरलाई प्रदेश राजधानी तोक्न माग गर्दै भएको बन्दले सोमबार दिनभर विराटनगरबजारको जनजीवन प्रभावित भएको थियो । मुख्यमन्त्री शेरधन राईले विराटनगरलाई नै प्रदेशको स्थायी राजधानी बनाउने प्रतिवद्धता जनाएपछि बन्द खुलेको थियो । 



प्रतिकृया दिनुहोस