ब्रुमर सञ्चालन हुँदा पनि नियन्त्रणमा आएन काठमाडौँको थुलो

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन ।

काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ ।

“एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या भएको छ ।,” विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, “सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिलेसम्मा दुई सय २० टन धुलो सङ्कलन गरिसकेको छ ।” सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।     

     महानगरको सडकमा बु्रमर सञ्चालन भएको यही वैशाख २८ गते एक महीना पुग्दैछ । गत फागुन २८ गते इटालीबाट ल्याइएका बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुपम काम गरिरहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ ।     

प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डीे छ । यसको समाधानका लागि सडक विभागलाई पनि आग्रह गरेको छ । नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण बु्रमर सञ्चालनमा समस्या देखिएको छ ।     

१० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता र एउटा छ टन क्षमताको छ । दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमता रहेको सो बु्रमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।     

     खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कुल, रानीपोखरी, काठमाडौँ भ्यू टावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको महानगर वातावरण विभागले जनाएको छ ।     

कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडक विभागको मातहतमा रहेका छन् ।    

बु्रमर प्रयोगमा आएपनि सडक सफा नभएको नगरवासीको गुनासो छ । कालिमाटीका स्थानीयवासी विष्णु कँडेलका अनुसार बु्रमर सञ्चालनमा आएको पनि एक महीना बित्नै लागिसक्यो, धुलो कम हुनसकेको छैन । उक्त समस्या जस्ताको तस्तै रहेको छ ।     

     “यही अवस्था रहिरहने हो भने महङ्गो रकम खर्च गरेर बु्रमर खरीद गर्नुको कुनै अर्थ छैन ।, कँडेलले भने, । त्यसैगरी बागबजार, पुतलीसडक, भद्रकाली बालाजुलगायतका स्थानमा पनि धुलो कम नभएको स्थानीयवासीको गुनासो छ ।    


प्रतिकृया दिनुहोस