राष्ट्रपति भन्छिन्, मलाई विवादित नबनाइयोस्

Bidhya devi vandari 20

काठमाडौं । बुधबारदेखि शुक्रबारसम्मको कामकाज नै बन्द गरेर सुरु गरिएको न्यायाधीशहरुको राष्ट्रिय सम्मेलन मा नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षले बहिष्कार गरे ।

पूर्वअध्यक्षद्वय हरिहर दाहाल र शम्भु थापाले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिस र नियुक्तिमा मनपरी गरिएको भन्दै न्यायाधीश सम्मेलन बहिस्कार गरेकाको सो सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफुलाई बदनाम गर्न खोजिएको भन्दै गुनासो गरिन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु सो सम्मेलनको राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी थिइन् । शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरका न्यायाधीशहरु सहभागी छन् ।

राष्ट्रपति भण्डारीले राज्यका विभिन्न अंगलाई विवादमा ल्याउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाएकी छन् । उनले राज्यका विभिन्न निकायप्रति जनतामा दीग्भ्रमित बनाउने प्रयास भइरहेकोमा गुनासो पनि गरिन् ।

‘केही समययता राज्यका सबै निकायलाई विवादित बनाउने र अनास्था फैलाउने आधारहीन कुरा उठाएर जनतालाई दीग्भ्रमित पार्ने जस्ता कार्यहरु हुँदै आएका छन्, यसबाट न्यायपालिका पनि अछुतो छैन,’ उनले भनिन्, ‘यसले मलाई दुखित बनाएको छ । यो राम्रो काम होइन ।’

पछिल्लो समय हेलिकोप्टर खरिद र नेपाल प्रहरीले तालिम केन्द्रलाई सारेर राष्ट्रपति कार्यालय विस्तार गर्न खोजेको विषयलाई लिएर राष्ट्रपतिकै आलोचना भएको थियो । कुनै व्यक्तिको आचरण र व्यवहारलाई जोडेर समग्र संस्थाको विश्वसनियता र मानमर्यादामा ह्रास आउने गरी विवादित बनाउने प्रयासलाई समयमै पहिचान गरी निरुत्साहित गर्न जरुरी रहेको उनको भनाई छ ।

सम्मेलनमा जिल्ला अदालतका २ सय ३५ र उच्च अदालतका १ सय ४४ सहित देशभरका करिब ५ सय न्यायाधीश सहभागी छन् । सो सम्मेलनमा न्यायपालिकासम्बन्धी चार वटा कार्यपत्र पेस गरिँदैछ ।

प्रतिकृया दिनुहोस