न्यायाधीश सिफारिसमा भागबण्डा : मन्त्रीका भान्जीदेखि ज्वाइराजासम्म

Suprim court

काठमाडौं । जहाँ पनि मर्यादा क्रमको कुररा उठ्छ । जहाँ पनि बरिष्ठतमको कुरा उठ्ठ । तर नेपाली राजनीति यस्तो बनेको छ, जहाँ पारिवारिक घेरामै अलिझएको छ ।

मंगलबार मात्रै न्याय परिषदले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिसलाई हेर्ने हो भने राज्यका हरेक तहमा पारिवारिक घेरामा अल्झिएको स्पष्ट पार्छ ।

सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायी पृष्ठभूमिका छन् । अधिवक्ता डा. मनोजकुमार शर्मा सिफारिस भएका छन्, जो पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिज हुन् । उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अडानमा सिफारिसमा परेका हुन् ।

उच्चमा सिफारिस रेणुका साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । पुनरावेदन अदालतकी पूर्व अतिरिक्त न्यायाधीश नीलम पौडेल उपप्रधानमन्त्री ईश्वर पोख्रेलकी भान्जी हुन् ।

सर्वोच्चको न्यायाधीशमा सिफारिसमध्ये चलखेल भएन भने वरिष्ठ अधिवक्ता कुमार रेग्मीले रोलक्रमअनुसार झन्डै साढे दुई वर्ष र हरिप्रसाद फुँयाल चार वर्ष प्रधानन्यायाधीश हुनेछन् ।

न्यायाधीशमा सिफारिस भएका कतिपय व्यक्तिका विषयमा न्याय क्षेत्रमा व्यापक असन्तुष्टि व्यक्त भएको छ । वरिष्ठ अधिवक्ता एवम् नेपाल बारका पूर्वअध्यक्ष शम्भु थापाले परिषद्को निर्णयमा जिल्ला, उच्च, सर्वोच्च अदालत र अग्रज कानुन व्यवसायीको हुर्मत काढ्ने काम गरिएको बताउँछन् ।

‘जसलाई पनि न्यायाधीश बनाएर हुन्छ ? गुण दोषको आधार छुट्याउन जरुरी छ,’ थापाले भने, ‘पुनरावेदन अदालतमै स्थायी हुन नसकेकालाई सर्वोच्चमा ल्याउनु भनेको जिल्ला, उच्च, सर्वोच्च र अग्रज कानुन व्यवसायीको हुर्मत काढ्ने काम हो । छोराछोरी र सालासाली राखेर न्याय पाइन्छ ? पद नै खाली नहुँदै न्यायाधीश सिफारिस गर्ने निर्णय अवैध हो ।’

परिषद्को मंगलबारको निर्णयअनुसार सर्वोच्चको न्यायाधीशमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, पूर्व महान्यायाधिवक्ता हरिप्रसाद फुँयाल, अधिवक्ता डा. मनोजकुमार शर्मा सिफारिस भएका छन् ।

उच्च अदालतमा नायब महान्यायाधिवक्ता किरण पौडेल, सर्वोच्चका रजिस्ट्रार महेन्द्रनाथ उपाध्याय, सत्य निरूपण र मेलमिलाप आयोगका सचिव रमेश ढकाल, पुनरावेदन अदालतकी पूर्व अतिरिक्त न्यायाधीश नीलम पौडेल, सर्लाही जिल्ला न्यायाधीश राजेशकुमार काफ्ले, रौतहट जिल्ला न्यायाधीश लेखनाथ ढकाल सिफारिसमा परेका छन् ।

यस्तै चितवन जिल्ला न्यायाधीश कुलप्रसाद शर्मा, भक्तपुर जिल्ला न्यायाधीश महम्मद जुनेद आजाद, ललितपुर जिल्ला न्यायाधीश बालमुकुन्द दवाडी र पर्सा जिल्ला न्यायाधीश नागेन्द्रलाल कर्ण उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

कानुन व्यवसायीबाट उच्च अदालतको न्यायाधीश सिफारिस हुनेमा जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, विमला सुवेदी, रेणुका साह, डालकुमार खड्का, उज्वल शुक्ल, नवराज थपलिया र अञ्जु उप्रेती छन् । उप्रेतीलाई आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी न्यायाधीश सिफारिस गरिएको छ।

प्रतिकृया दिनुहोस