हुरीबतास पीडितहरुका लागि राहत घोषणा गर्न होडबाजी, पीडित भने भोकभोकै

Hawahuri pidit 19

काठमाडौं । बारा र पर्सामा आएको हुरीबतास पीडितहरुको राहत, उद्धार र पुनस्र्थापनाका लागि विभिन्न क्षेत्रबाट राहत रकम घोषणा गर्ने होडबाजी भएको छ । तर पीडितहरुले भने राहतका नाममा चाउचाउको प्याकेट र पानीसमेत पाउन नसकेको दुःखेसोे पोखेका छन् ।

विभिन्न राजनीतिक दल, प्रदेश सरकार तथा संघ संस्थाले करोडौँ रकम राहत दिने घोषणा गरे पनि पीडितहरुले तत्काल आवश्यक पर्ने खाना तथा आवासका राहत सामाग्री पाउन नसकेको बताएका हुन् ।

उनीहरुले राहत घोषणाभन्दा पनि तत्काल आवश्यक पर्ने खानेकुरा र ओत लाग्नका लागि त्रिपाल पठाइदिन आग्रह गरेका छन् । सोमबार घटनास्थलको हवाई निरीक्षण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितहरुका लागि राहत र उद्धारको काममा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए । तर हुरीबतास पीडितहरु घटनाको तेस्रो दिनसम्म पनि राहतका नाममा एक प्याकेट चाउचाउ र पानीको बोतल समेत पाउन नसकेर छटपटाइरहेका हुन् ।

त्रिपालसमेत नहुँदा खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरुको बिचल्ली भएको छ । उनीहरुलाई केही संघ संस्थाको सहयोगमा राहत सामग्री उपलब्ध गराइए पनि त्यो पर्याप्त भएको छैन । सरकारी अधिकारीहरुले राहत पठाइसकिएको दाबी गरे पनि घरबास र अन्नपात गुमेका पीडितहरु खाना नपाएर भोकभोकै छटपटाइरहेका छन् ।

विशेष गरि बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई थप समस्या भएको छ । प्रधानमन्त्री ओलीले हवाई निरीक्षण गरेर फर्केको तर राहत नपठाएको भन्दै पीडितहरु निराश छन् ।

घर बनाउन उस्तै होडवाजी
हुरीबतासले घरबार बिहीन भएपछि केन्द्र सरकारले सबैको घर बनाइदिने भएको छ । यता प्रदेश २ सरकारले बाराका हुरी प्रभावितहरुका लागि वर्षा अगावै प्रि–फ्याब घर बनाइदिने भएको छ । राहत तथा सद्दार व्यवस्थापन उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले पीडितहरुको आवासबारे निर्णय गरेको हो ।

तत्कालका लागि त्रिपाल, टेन्ट लगायतको अस्थायी सेल्टरहरु बनाइने छ । दीर्घकालीन पुनर्स्थापनाका लागि भने पूर्ण रुपमा घर क्षति भएका पीडितहरुलाई एकनासको प्रि–फ्याब घर बर्षा सुरु हुनु अगाडि (चार महिनाभित्र) तयार पार्ने निर्णय गरिएको मुख्य न्यायाधिवक्ता एवं समितिका सदस्य दिपेन्द्र झाले बताए ।

प्रदेश सरकारले बनाइदिने भनेको प्रिफ्याब घर कस्तो हुन्छ भन्ने सार्वजनिक भएको छैन । तर, भूकम्प प्रभावितहरुले पनि प्रिफ्याब घर बनाएका थिए, जुन भुइँतले हुन्छ ।

प्रतिकृया दिनुहोस