खानेपानी मन्त्री र कतारी राजदूतबीच भेटवार्ता

Mantri rajdut meeting

काठमाडौं । खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलबीच शिष्टाचार भेटघाट भयो ।

मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा भएको सो भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा छलफल भएको थियो ।

भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताइन् । उनले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराइन् ।

‘पानीको स्रोतको सदुपयोग गरेर स्प्रिङ वाटर निर्यात गर्ने विषयमा मेरो ध्यान बढी केन्द्रित छ’ उनले भनिन्, ‘कतार सरकारसँग सहकार्य गरेर अघि बढ्न पाए अझ राम्रो हुन्थ्यो । म एकदम उत्साहित छु ।’ सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिइन् ।

नेपालका लागि कतारका राजदूत अल हेलले नेपालको पानी सफा र स्वच्छ रहेकाले यसको बजार कतारमा राम्रो रहेको स्पष्ट पारे । उनले अरु देशको भन्दा नेपालको पानी स्वच्छ र प्राकृतिक मिनरलयुक्त रहेको बताए । नेपालबाट पानी निर्यात गर्ने विषयमा थप छलफल गरिसकेपछि सहमतिमा हस्ताक्षर गर्न कतार सरकार तयार रहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस