समायोजनमा श्रीमान्-श्रीमती अलग्याएको भन्दै कर्मचारीले मन्त्रालयमा दिए उजुरी

Aa11111

काठमाडौँ । सरकारले कर्मचारी समायोजन सम्पन्न भएको घोषणा गरेको छ ।

बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूले मन्त्रालय सम्हालेको १ वर्ष १२ दिनमा कर्मचारी समायोजनको काम पूरा गरेको जानकारी गराएका छन् ।

उनले १ वर्ष अवधिमा ३ तहको संगठन संरचना तयार गरी कामकाज सहज रुपमा सञ्चालन गर्न अस्थायी रुपमा कर्मचारी खटाएको बताए ।

मन्त्री पण्डितले संविधानले दिएको अधिकारको प्रयोग गरी कर्मचारी समायोजनको काम सकिएको पनि बताए ।

समायोजनका क्रममा कर्मचारीले ठीकसँग अनलाइन फारम नभरेको, समयतालिका अनुसार अनलाइन विवरण समावेश नगरेकोले फागुन ३ लाई टार्गेट गरेपनि चैत १४ मा आएर काम सकिएको उल्लेख गरे ।

उनले कर्मचारीले गरेको जाहेज गुनासोको सम्बोधन गर्ने बताउँदै कर्मचारीलाई पत्र दिने काम पनि भइरहेको बताए ।

उनले संघीयतामा जाँदा अरु देशमा कर्मचारी समायोजको काम कठीन हुने भएपनि नेपाल सरकारले भने व्यवस्थित ढंगले कर्मचारी समायोजन गर्न सफल भएको बताए ।

उनले संघीय निजामती सेवा ऐन र स्थानीय सेवा कर्मचारी सेवा ऐन मार्फत कर्मचारीको सेवा सुविधामा कमी नगर्ने उल्लेख गरे ।

समायोजन सकियो, झन्डै ७ हजार गुनासा

सरकारले कर्मचारी समायोजको काम सकेपनि ६ हजार ७ सय हाराहारी कर्मचारीले गुनासो दर्ता गराएका छन् ।

समायोजन गर्दा श्रीमान-श्रीमती सँगै हुने व्यवस्था भएपनि फरक फरक ठाँउमा समायोजन गरिएको, स्थायी ठेगना अनुसार समायोजन गरिएको, स्थानीय तहका लागि विवरण भरेको तर संघमा समायोजन भएको भन्दै ठूलो संख्याका कर्मचारीले गुनासो दर्ता गराएका हुन् । धेरैजसो प्रशासन समूहका कर्मचारीले गुनासो दर्ता गरेका छन् ।

९ वटा सूची बनाएर चैत २५ भित्र कर्मचारीका गुनासो सम्बोधन गरेर समायोजन गर्ने मन्त्रालयका सहसचिव रुपनारायण भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस