निर्मला हत्या प्रकरण : हत्याराको संकेतसम्म भेटिएन, डीएनए परीक्षणमाथि शंका

Nirmala

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्याराको पहिचान अझै हुन सकेको छैन ।

गत साउन ११ गते उखुबारीमा मृत भेटिएकी निर्मलाको भेजिनल स्वाबसँग कसैको पनि डीएनए नमिल्दा हत्याराको पहिचान हुन नसकेको हो ।

बलात्कारका घटनामा डीएनए परीक्षण गरिएको निर्मला हत्याकाण्ड नै पहिलो घटना भएको प्रहरी अधिकारी बताउँछन् ।

केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र कञ्चनपुर प्रहरीको टोलीले अनुसन्धान गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञानबहादुर विष्ट सुक्ष्म रुपमा प्रहरी अनुसन्धानमा जुटेको बताउँछन् ।

‘ढिलोचाँडो अपराधी कानुनको दायरामा आउँछ, हामीले अनुसन्धानमा सबै प्रकारका पद्धति र विधि अपनाएका छौं,’ डिएसपी विष्टले भने ।

प्रहरीले अनुसन्धानका क्रममा एक सयजनाभन्दा बढीको रगत डीएनए परीक्षणका लागि संकलन गरेको छ । सयौंसँग बयान र सोधपुछ पनि गरेको छ । तर हत्याराको पहिचान हुन सकेको छैन ।

अनुसन्धानका क्रममा दिलिपसिंह विष्ट लगायत केहीले हत्या आफूले गरेको साविति बयान दिएपनि उनीहरुको डीएनए म्याच भएन ।

यसअघि बलात्कारका घटनामा अभियुक्तले दिएको बयानलाई नै अनुसन्धानको आधार र प्रमाण मानिँदै आएको थियो । तर निर्मला प्रकरणका डीएनए नै विकास भएकाले डीएनए म्याच नै गर्नुपर्ने अवस्था छ ।

अनुसन्धानमा रहेका एक प्रहरी अधिकारी भन्छन्, ‘डीएनएमै अनुसन्धान अल्झिएको छ । तर डीएनए हालसम्म कसैको मिलेको छैन ।’

यसअघि निर्मला हत्यामा संलग्न रहेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोबाट घटनाको अनुसन्धान गर्न कञ्चनपुर पुगेका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जीसी नेतृत्वको टोलीले भदौ ३ गते स्थानीय दिलिप सिंह विष्टलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले दिलिपलाई नै मुख्य अभियुक्त बनाएर सार्वजनिक समेत गरेको थियो । तर दिलिपको डीएनए निर्मलाको स्वाबसँग म्याच हुन सकेन ।

प्रहरीसँगको साविती बयानमा विष्टले बलात्कारपछि देब्रे हातले घाँटी थिचेर निर्मलाको हत्या गरेको बयान दिएका थिए । दिलिप पक्राउ परेपछि स्थानीयले विष्टलाई प्रहरीले फसाएको आरोप लगाउँदै आन्दोलन चर्काए ।

तर सरकारले नै गठन गरेको छानबिन समितिले प्रहरीले दिलिपलाई नक्कली अभियुक्त बनाएको प्रतिवेदन गृहलाई बुझाएपछि तत्कालीन कञ्चनपुर एसपी दिल्लीराज विष्टसहित अनु्सन्धानमा संलग्न सबै प्रहरीमाथि कारवाही भएको थियो ।

उनीहरुमध्ये एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट भने बर्खास्त नै भए । कारवाहीमा परेका प्रहरी कर्मचारीविरुद्ध निर्मलाकी आमा र दिलिपका दाजुले प्रमाण नष्ट र यातना दिएको आरोपमा मुद्दा दायर गरेका थिए ।

सबै प्रहरी धरौटीमा अदालतबाट छुटिसकेका छन् । तर प्रहरी अधिकारीमािथ कारवाही हुँदा पनि अनुसन्धानको नतिजा भने आउन सकेको छैन ।

हरी टोलीले स्थानीयको लगत संकलनदेखि लिएर हजारौं हल डिटेल हेर्ने, आपराधिक समूहलाई नियन्त्रणमा लिने लगायतका काम गरिसक्दा पनि हत्यारा को हो भन्ने संकेतसम्म प्रहरीले पाउन सकेको छैन ।

पछिल्लो समय निर्मलाकी आमाले नै छोरीलाई बलात्कारपछि हत्या गर्ने पुरुष दिलिपसिंह विष्ट नै भएको बताएपछि प्रकरणले नयाँ मोड लिएको छ ।

निर्मला हत्या प्रकरणमा कारवाहीमा परेका प्रहरी अधिकारीले डीएनए परीक्षण र संकलन प्रक्रियाबारे प्रश्न उठाउँदै आएका छन् । महाकाली अञ्चल अस्पतालका डाक्टरले भेजिनल स्वाबको तीनवटा स्याम्पल संकलन गरेका थिए । त्यही स्याम्पल नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइयो ।

प्रहरीको विधिविज्ञान प्रयोगशालामा परीक्षण गर्दा दुईवटा स्याम्पलबाट डीएनए जेनेरेट भइसकेको थियो भने बाँकी रहेको अन्तिम स्याम्पल नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको थिएन ।

विधि विज्ञान प्रयोगशालाका प्रमुखसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) राकेश सिंहको टोलीले भेजिनल स्वाबबाट डीएनए जेनेरेट गरेका थिए ।

राष्ट्रिय मानव अधिकार आयोगले भने भेजिनल स्वाब संकलन गर्ने प्रक्रियामाथि छानबिन गर्न निर्देशन दिएको थियो ।

प्रधानमन्त्री कार्यालयमा सिफारिससहित २०७३ माघ १३ गते उक्त रिपोर्ट बुझाइएको थियो ।

प्रतिकृया दिनुहोस