बझाङमा एसईई : चिट चोराउनेलाई नियन्त्रणमा लिन प्रहरीद्धारा हवाई फायर

Gun fire656

बझाङ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा एसईई परिक्षामा चिट चोराउने भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

बुधबार गणित विषयको परिक्षामा चिट चोराउन खोज्ने तीनजना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेहरुले ढुंगामुढा प्रहार गरेपछि फायर गरेको हो ।

बान्निचौर माविको परिक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा उल्टै प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार गरेपछि भीडलाई नियन्त्रणमा लिन हवाइफायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

परिक्षा केन्द्रमा व्यापक चिट चोरी हुने गरेको सूचना आएपछि आज प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला प्रहरी कार्यालयका डियसपी प्रविण धिताललगायतको टोली अनुगमनका लागि बान्निचौर माविको परिक्षा केन्द्रमा गएको थियो ।

ढुंगामुढा गर्ने आरोपमा पक्राउ परेका तीन जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक प्रविण धितालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस