कपिलवस्तुमा चोरी आतंक : दुई साताभित्र ४ विद्युत् ट्रान्सफर्मर चोरी

Kapilbastu

कपिलवस्तु । जिल्लाको पश्चिमी क्षेत्र कृष्णनगर नगरपालिका क्षेत्रमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढेका छन् ।

पछिल्लो दुई साताभित्र नेपाल विद्यतु प्राधिकरण कृष्णनगर वितरण केन्द्रका चार वटा ट्रान्सफर्मर चोरी भएको छ ।

ट्रान्समिटर चोरी भएपछि उक्त क्षेत्रमा बिद्युत आपूर्ति बन्द भएको छ । एउटा ट्रान्सफर्मरको २० लाख रुपैयाँ पर्ने विद्युत प्राधिकरण कार्यालय कृष्णनगरका प्रमुख लक्ष्मीकेशर अगंजाले जानकारी दिए ।

कार्यालयका अनुसार गत फागुन १५ मा बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिएको, फागुन १७ मा सफरमा सिंचाइ आयोजनाको २५ केभिएको ट्रान्सफर्मर चोरी भएका छन् ।

यस्तै, चैत २ गते दयानगर स्थित जय अम्बे रोडा उद्योगबाट समेत ४०० केभिए र चैत ६ मा सौनहवामा १०० केभिएको ट्रान्सफर्मर चोरीको प्रयास गरिएको थियो ।

ती ट्रान्सफर्मर बढी तौलको भएकाले चोरले लान नसकेको विद्युत कार्यालयका कर्मचारीहरुको भनाइ छ ।

यता कृष्णनगर-१० सौनहवामा रहेको १०० केभिएको ट्रान्सफर्मर चोरी भएको एक साता नबित्दै चैत १४ गते विजयनगर गाउँपालिका-५ पिपरीमा १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कार्यालय प्रमुख अगंजाले जानकारी दिए । यस ट्रान्सफर्मरबाट विजयनगर गाउँपालिकाको कार्यालयमा विद्युत सप्लाइ हुने गरेको थियो ।

नागरिकले रेखदेख गर्नु पर्ने ट्रान्सर्फमर चोरी भएपछि समस्या भएको कार्यालय प्रमुख अगंजाको भनाई छ ।

ट्रान्सफर्मरभित्र रहने तेल र तामाको तार महँगोमा बिक्री हुने भएकाले चोरी बढेको हुन सक्ने अनुमान गरिएको छ ।

ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ आयोजनामा सिंचाइ रोकिएको छ । सौनहवामा ट्रान्सफर्मर चोरी भएयता त्यहाका ७० बढी घर परिवार अन्धकारमा बाध्य छन् ।

चोरी आतंक बढेपछि प्रहरीलाई समेत निगरानीमा जटिलता थपिएको छ ।

कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतम प्रसाद पुडासैनीले चोरमाथि निगरानी बढाइएको बताए ।

प्रतिकृया दिनुहोस