जुत्तामेलामा ग्राहक ठगिँदै, बिलमै फर्जी फोन नम्बर राखेर ग्राहक झुक्याउँदै वेलकम सुज

Welcom suj news

काठमाडौं । के तपाई भृकुटीमण्डपमा भइरहेको जुत्ताहरुको महाकुम्भ मेलामा गएर जुत्ता किन्दै हुनुहुन्छ ? कतै तपाई सो मेलामा जुत्ता किन्दा वारेन्टी विल बोकेर घर फर्किदै हुनुहुन्छ ?

पक्कै पनि भृकुटीमण्डपमा लागिरहेको जुत्ताहरुको महाकुम्भ मेलामा जुत्ता किनेपछि वारेन्टी विल पाउनु हुन्छ । तर, त्यो विलमा भएको फोन नम्बर सही छ कि छैन ? त्यो याद गर्नुपर्ने भएको छ ।

‘नेपाली जुत्ताचप्पल प्रयोग गरौं, स्वदेशी उत्पादनमा गर्व गरौं’ भन्ने नाराका साथ अहिले भृकुटीमण्डपमा ‘महासेल महाकुम्भ जुत्ता मेला’ भइरहेको छ । तर, यहाँ प्रदर्शनमा राखिएका केही जुत्ता कम्पनीहरुले भने ग्राहकलाई झुक्याइरहेको पाइएको छ ।

मेलामा जाने ग्राहकलाई ‘६ महिनाको वारेन्टी, ‘नेपाली ब्राण्डका सामान हुन्, हामे आफ्नै उत्पादन हो’ आदी चिल्ला कुरा गरेर ग्राहकलाई जुत्ता चप्पल किन्न आकर्षक बनाइन्छ । तर, ग्राहकले किनेको जुत्ता चप्पलको न कुनै वारेन्टी हुन्छ, न त बिक्रेताले भने जस्तो ग्राहकले सुविधा नै पाउँछन् ।

यस्तो छ वेलकम सुजको बदमासी
सो मेलाबाट बाहिरिँदा जुत्ता चप्पलको बिल देखाएर मात्रै गेट बाहिर निस्कन पाइन्छ । त्यही भएर पनि बिल अनिवार्य छ । ग्राहकलाई दिइने बिलमा फोन नम्बर राखिएको हुन्छ । वेलकम सुज स्टोर्सले पनि आफ्नो बिलमा फोन नम्बर राखेको छ ।

मिठा र चिल्ला कुरामा मख्ख परेर एक ग्राहकले फागुन १७ गते वेलकम सुज स्टोर्सको जुत्ता १७ सय तिरेर खरिद गरेका थिए । जसमा ६ महिनाको वारेन्टी पनि भनिएको थियो ।

तर, ती ग्राहककाु जुत्ता २३ गते नै लाउन नमिल्ने गरी सोल खुस्कियो । २५ गते बिल बोकेर भृकुटीमण्डपमा बेला लागेको ठाउँमा गुनासो गरे । मेलामा रहेका बिक्रेताले बिलमा भएको फोन नम्बरमा फोन गरेर ल्याइदिनु होला, हामी बनाई दिन्छौ भने फर्काइदिए । फागुन २९ गतेदेखि ती ग्राहकले ०१४९९३५३८ मा फोन गरे ।

वेलकम सुज स्टोर्सको पान नम्बर हो ६०८६४४५१२ र फोन नम्बर हो ०१४९९३५३८ । वेलकम सुज स्टोर्सले दिने बिलमा यही उल्लेख गरिएको छ । तर, सो बिलमा उल्लेख गरिएको फोन नम्बरमा जति पटक फोन गरे पनि कहिल्यै उठ्दैन ।

किन उठ्दैन फोन ?
बिक्रेताले ग्राहकलाई ६ महिनासम्म यो जुत्ता केही हुँदैन भने सम्झाउँछन् । ग्राहक मख्ख पनि हुन्छन् । तर, जुत्ता किनेको केही समयमै बिग्रन्छन् । यस्तो अवस्थामा ग्राहकको जुत्ता बनाइदिनुपर्छ भनेर पनि अधिकांस बिक्रेताले फोन उठाउँदैनन् । यसैको सिको गरेको छ वेलकम सुज स्टोर्सले पनि ।

चैत्र महिनाभरी लाग्ने सो ‘महासेल महाकुम्भ जुत्ता मेला’ ८ वटा जुत्ता कम्पनीहरु आफ्ना उत्पादनहरु बिक्री वितरणमा राखेका छन् । त्यसमध्ये वेलकम सुज स्टोर्सले भने ग्राहकलाई वारेन्टी दिने नाममा दुख दिने गरेको छ ।

आखिर किन दुःख दिन्छ वेलकम सुज स्टोर्सले ? यसका सञ्चालक आरसी केसी भन्छन्, ‘हजारौं सामान बनाउँदा केही केही बिग्रिन्छन् । त्यसैका लागि हो हामीले वारेन्टी दिएको ।’

वेलकम सुजको काठमाडौंको पुतलीसडकसहित केही स्थानमा र देशका अन्य ठाउँमा पनि शाखा रहेको बताउने केसी बिलमा उल्लेख भएको फोन नम्बर नउठ्ने स्वीकार गर्छन् । ‘हाम्रा कर्मचारी बिहान ८ बजेदेखि मेलामा गएका हुन्छन्, कहाँ उठ्छ त ?’ उनी भन्छन्, ‘मेला आएर भेट्नुस, त्यहाँको फोन मज्जाले उठ्छ ।’

मानवीय कमजोरी हो : महतो
स्वभाविकै रुपमा स्वदेश उत्पादन प्रयोग गर्नुपर्छ । त्यही भएर पनि भृकुटीमण्डपमा मेला लाग्दा भीड लाग्ने गर्छ । तर, यस प्रकारको हेल्चेक्र्याईले भने नेपाली उत्पादनसँग विश्वास घट्छ ।

‘यसको उद्धेश्य नेपालीहरुले स्वदेशी उत्पादनका जुत्ताचप्पल प्रयोग गर्नुहोस् भन्ने नै हो’ महाकुम्भको संयोजन गरिरहेका प्रमोद महतोले भने, ‘मेलामा केही मानवीय त्रुटि हुनसक्छ । तर, त्यसलाई उत्पादकहरुले त्यस्तो कमजोरी हुन दिनुहुँदैन, सच्याउनुपर्छ ।’

तर, यसका सञ्चालक केसी भने ‘आइफोन जस्ता ठूलठूला कम्पनीमा त इरर हुन्छन्’ भन्दै पन्छिने प्रयास गरे । उनले भने, ‘हजारौ सामान बनाउँदा केही बिग्रिन्छ ।’ तर, उनले बिग्रिएका सामाग्री किन बिक्रीमा राखिए भनेर केही बताउन चाहेनन् ।

प्रतिकृया दिनुहोस