सेती अञ्चल अस्पताल : सुत्केरीको मृत्युपछि पाँचौ दिनसम्म पनि सेवा ठप्प

Seti anchal hospital 22

धनगढी । सुत्केरीको मृत्युपछि सेती अञ्चल अस्पतालको प्रसूति सेवा प्रभावित भएको छ । दैनिक २० भन्दा बढी गर्भवती आउने अस्पतालमा पाँच दिनयता एक जना मात्र भर्ना भएका छन् ।

शल्यक्रिया गरेको चौथौ दिन चैत ७ गते धनगढी उपमहानगरपालिका–१२ की रेखा कडायत थापाको मृत्यु भएको थियो ।

त्यस दिनयता एक जनाबाहेक सुत्केरी हुन कोही नआएको अस्पतालले जनाएको छ । मृतकका आफन्तले चैत ८ र ९ गते अस्पतालमा तोडफोड गरेका थिए ।

अस्पतालका सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेका अनुसार घटनाअघि दैनिक २० देखि २५ महिला सुत्केरी हुन्थे । घटनापछि गलत सन्देश प्रवाह हुँदा कोही नआएको उनले बताए ।

डाक्टर, स्वास्थ्यकर्मी तथा नर्सको मनोबल पनि घटेकाले जटिल खालका बिरामीलाई भर्ना नलिइएको उनले सुनाए । ‘यो घटनाले डाक्टरको मनोबल कम भएको छ’, उनले भने, ‘यो राम्रो होइन ।’

सुदूरपश्चिमको सुविधासम्पन्न अस्पतालका रूपमा यसलाई लिने गरिएको छ । २५ गर्भवतीमध्ये २० सामान्य र पाँच जनाको अप्रेसनमार्फत प्रसूति गरिँदै आएको थियो ।

सजिलै गर्न सकिने केस मात्र भर्ना गरिने उनले बताए । अस्पतालमा आईसीयू भए पनि एउटा मात्र भेन्टिलेटर छ । नवजात शिशु राख्ने एनआईसीयू पनि छैन । काम चलाउन सेमी एनआईसीयू छ । थप सेवा नहुँदासम्म काम गर्न गाह्रो स्थिति रहेको उनले सुनाए ।

उनका अनुसार सुत्केरी मृत्यु प्रकरणको अनुसन्धान विशेष टोलीले अघि बढाएको छ । काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहका वरिष्ठ चिकित्सक सन्देश पौडेल नेतृत्वको टोली छानबिन गर्न आएको अस्पतालले जनाएको छ । मृतकका आफन्त र अस्पताल प्रशासनबीच पाँच बुँदे सहमति भएको थियो ।

छानबिन समिति गठन गर्ने, नवजात शिशुको निःशुल्क उपचार गर्ने, बच्चाको शिक्षाको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने, बच्चा २४ वर्ष हुँदासम्म अस्पतालमा निःशुल्क उपचार गर्ने र पालनपोषणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सहमति भएको थियो ।

 

प्रतिकृया दिनुहोस