निर्मला हत्या प्रकरण : सिआइबीका डिएसपी अंगुर जिसीसँग दुई दिन बयान

Angur gc

कञ्चनपुर । निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त सिआइबीका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसँग कंचनपुर जिल्ला अदालतमा सोमबार र मंगलबार दुई दिन बयान लिइएको छ ।

जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासमा सोमबारबाट सुरु भएको उनको बयान मंगलबार सकिएको स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । डिएसपी जिसी सोमबार आफैं अदालतमा उपस्थित भएका थिए ।

मंगलबार नै बयान सकिएपछि जाहेरी दिने दिलिप बिष्टका दाजु खडक बिष्टको पक्षबाट अधिवक्ता वसन्त गौतमले बहस गरेका छन् ।

बुधबार पनि थुनछेक बहस हुनेछ । थुनछेक बहस सकिएपछि सामान्य तारेखमा छोड्ने, धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने आदेश हुनेछ ।

यसअघि तत्कालीन एसपी बिष्टसहित सात जनालाई धरौटीमा छोडिएको थियो । जिसी कंचनपुर प्रहरी कार्यालयको हिरासतमा राखिएका छन् ।

साथी रोशनी बमको घरमा पढ्न गएका बेला साउन १० गते हराएकी निर्मलाको साउन ११ गते नग्न अवस्थामा शव फेला परेको थियो ।

कञ्चनपुरका एसपी दिनेश आचार्यले सो घटनामा अहिलेसम्म कुनै ठोस तथ्य फेला पर्न नसकेको बताएका छन् ।

प्रतिकृया दिनुहोस