निर्मला हत्या प्रकरण : साढे १० लाख धरौटीमा विष्टलाई छाड्न आदेश

Sp bistaa

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोग लागेका तत्कालिन एसपी डिल्लीराज विष्टलाई साढे १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्र कुमार आचार्यको इजलासमा भएको थुनछेक बहसपछि धरौटीमा छाड्ने आदेश भएको हो ।अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीका अनुसार आइतबार १ बजे इजलासले आदेश गरेको हो ।

आदेशमा यातना कसुरमा ६ लाख र प्रमाण नष्ट गरेकोमा ४ लाख ५० हजार धरौटी माग गरिएको छ । उनीमाथि सार्वजनिक न्याय विरुद्व (प्रमाण नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेको थियो ।

श्रेस्तेदार अवस्थीले अदालतले धरौटीमा छाड्न आदेश दिएको भन्दै रकम बुझाए धरौटीमा रिहा हुने र नबुझाए कारागार पठाइने बताए । चैत्र ८ गते विष्टलाई अभियोग लागेका दुईवटै मुद्दाको थुनछेक बहस सकिएको थियो ।

सो दिन समय नभएपछि आइतबार मात्रै आदेश आएको हो । विष्ट चैत्र ५ गते अदालतमा उपस्थित भएपछि उनको बयान लिने काम भएको थियो । विष्टका तर्फबाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र कृष्णदेव जोशीले बहस गरेका थिए ।

जाहेरी कर्ताका तर्फबाट भने सरकारी वकिल कार्यालयका न्यायधिवक्ता देवराज भारती, सहन्यायधिवक्ता मोहनीप्रसाद जोशी सहित अधिवक्ता बद्रिप्रसाद भुषाल, इन्द्र अर्याल, कल्याण पोखरेल, ओमप्रकाश सेन ठकुरीले बहस गरेका थिए । कञ्चनपुर जिल्ला अदालतले फागुन २६ गते विष्टलाई ३५ दिनभित्रमा अदालतमा उपस्थित हुन म्याद जारी गरेको थियो ।

म्याद जारी भएको १० दिनमा विष्ट अदालतमा उपस्थित भएका थिए । अदालतले उपस्थित हुन म्याद जारी गरिएका निलम्बित सीआइबीका डीएसपी अंगुर जीसी भने अझै उपस्थित भएका छैनन् ।

निर्मला हत्याप्रकरणमा सार्वजनिक न्याय विरुद्व (प्रमाण नष्ट गरेको) र यातना कसुरको मुद्दा लागेका ६ जना प्रहरी कर्मचारी भने यसअघि नै धरौटीमा रिहा भइसकेका छन् । फागुन २२ गते अदालतमा दायर भएका मुद्वाको प्रारम्भिक सुनुवाई, अभियोग लागेका व्यक्तिको बयान, र थुनछेक बहसपछि ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको थियो ।

फागुन ३० गते नै अदालतले माग गरेको धरौटी बुझाएर उनीहरु रिहा भएका हुन् । उनीहरु अदालतमा मुद्वा दायर भएकै दिन उपस्थित भएका थिए । धरौटीमा रिहा भएका ६ जनामध्ये ज्ञानबहादुर सेट्टी र एकेन्द्र खड्काले अनिवार्य अवकाश पाइसकेका छन् भने जगदिशप्रसाद भट्ट बर्खास्त गरिएका छन् । अन्य तीनजना निलम्बनमा छन् ।

गत पुस ३ गते निर्मला पन्तकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिल्लीराज विष्टसहित आठ प्रहरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बागफाँटाका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले प्रहरी हिरासतमा अनुसन्धानका क्रममा भाइलाई यातना दिएको भन्दै प्रहरी प्रमुख विष्टसहित चार जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

गत साउन १० गते साथीको घरमा होमवर्क गर्न गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । उनको बलात्कारपछि हत्या भएको ८ महिना पुग्न लाग्दा समेत अहिलेसम्म हत्यारा पक्राउ पर्न सकेको छैन ।

प्रतिकृया दिनुहोस