२६ वर्ष अघिदेखि खुट्टा भाँचिएर थला परेका विकको मुहारमा चमक

Bayelpata hospital

अछाम । डोटीको दिपायल–सिलगढी नगरपालिका–४ का ३५ वर्षीया गणेश विकको नौ वर्षको उमेरमा बायाँ खुट्टा भाँचिएर थला परेका थिए । अहिले उनको मुहारमा खुसी छाएको छ ।

२६ वर्षअघि बायाँ खुट्टा भाँचिएका विकको अछामको बयलपाटा अस्पतालमा निःशुल्क उपचार भएकाले उनको मुहारमा चमक छाएको हो ।

‘त्यसबेला जसोतसो भारतमा गएर उपचार गरें तर निको भएन । अहिले थला परिसकेको थिएँ’, उनले भने, ‘दुखाइ सहन नसकेपछि बयलपाटा आएको हुँ । उपचार पाउँदा खुसी लागेको छ ।’

बयलपाटा अस्पतालमा हाडजोर्नीसम्बन्धी राम्रो उपचार हुन्छ भनेर सुनेका उनी श्रीमती र आफन्तसँग बयलपाटा पुगेका हुन् ।

फागुन १० गते अस्पताल भर्ना भएका उनको खुट्टाको दुई पटक शल्यक्रिया भएको छ । ‘खुट्टा भाँचिएको २६ बर्ष भयो । २ र ३ पटक भारतमा गएर उपचार गरें तर निको भएन । अहिले निशुल्क उपचार पाएको छु’, विकले भने, ‘अब निको हुने आशा गरेको छु ।’

कालिकोटको सान्नी त्रिबेणी गाउँपालिका–४ की रामजीरा शाहीको चार छोरीपछि एक छोरा जन्मियो । घरका सबै खुशी थिए । तर छोराको दुबै खुट्टा बाङ्गो देखियो ।

छोराको उपचार कसरी गर्ने भन्ने चिन्ताले सताइरहेका उनी पनि बयलपाटा अस्पतालमको हाडजोर्नीसम्बन्धी सेवा बारे थाहा पाएर त्यहीँ पुगे । ‘उपचारपछि केहि सुधार भएको छ, निशुल्क उपचार, निशुल्क खान बस्न पाएका छौं । यहाँ सबै कुरा निशुल्क पाएका छौं’, रामजीराले भनिन् ।

दिपायल–सिलगढी नगरपालिका–१ की कृष्णा बिष्टको ५ बर्षअघि लडेर दाहिने खुट्टा भाचिएको थियो । धनगढी गएर उनले उपचार गरिन् । करीब एक लाख रुपैयाँ खर्च भयो तर निको भएन ।

पछि आफन्तको सहयोगमा बयलपाटा अस्पताल पुगेपछि उनको पनि उपचार भइरहेको छ । ५ बर्षसम्म पनि उनको हड्डी नजोडिएपछि भाँचिएको ठाउँमा हड्डी प्रत्यारोपण गरिएको छ ।

कृष्णाको शरीरको अन्य भागको हड्डी निकालेर खुट्टामा प्रत्यारोपण गरिएको हाडजोर्नी बिशेषज्ञ डा. मन्दिप पाठकले जानकारी दिए । ‘यहाँ दैनिक सरदर ३५ जनासम्म हड्डी भाँचिएका बिरामी आउँछन् । कसैको शल्यक्रिया त कसैको सामान्य उपचार गरिरहेका छौं’, डा. पाठकले भने ।

यी तीन जना विरामीमात्रै होईन, दुर्गम गाउँका विपन्न परिवारका लागि बयलपाटा अस्पताल बरदान साबित भएको छ । यस अस्पतालमा हाड्जोर्नीसम्बन्धी सेवा सुरु भएको ३ बर्ष भयो । यो अवधिमा २ हजारभन्दा बढी बिरामीले सेवा लिएका छन् ।

एक दशकअघि स्थापना भएको बयलपाटा अस्पतालले भर्ना शुल्क नलिने, बेड भर्ना भएका बिरामीलाई खाना तथा आवास समेत निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

साँफेबगरदेखि १२ किलोमिटरको दूरीमा जिल्ला सदरमुकाम मंगलसेन जाने बाटोमा रहेको बयलपाटामा दैनिक ४ सयभन्दा बढी बिरामी आउने गरेको अस्पताल प्रशाषनले जनाएको छ ।

एक दशकअघिसम्म एकजना एमबीबीएस चिकिसक पनि भेट्न गाह्रो हुने अछाममा, अहिले बयलपाटा अस्पतालमा मात्रै करिब ४ जना बिशेषज्ञ र ७ जना मेडिकल अधिकृत गरि ११ जना चिकित्सक कार्यरत छन् ।

प्रतिकृया दिनुहोस