'गिरोहले पार्टी सञ्चालन गरे खतरनाक हुन्छ' : काङ्ग्रेस नेता कोइराला

Sekhar koirala

चितवन । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, 'गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।'

नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने ।

गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए ।

नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए ।

काङ्ग्रेसकी नेत्रीद्वय सीता गुरुङ र डा. डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए ।

काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस