यस वर्षको एसइई सुरु, सबैभन्दा कम कर्णाली र धेरै ३ प्रदेशबाट परीक्षा दिँदै

0986see exam

काठमाडाैं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । एसईईमा देशभरबाट जम्मा ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएकोमा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र एक्जाम्टेड तथा प्राविधिकतर्फ २४ हजार ८ सय १७ विद्यार्थी सहभागी भएका छन् ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा ११ बजेसम्म चल्नेछ । परीक्षाकाे पहिलाे दिन आज विद्यार्थीले अनिवार्य अ‌ंग्रेजी विषयकाे परीक्षा दिँदैछन् ।

यस वर्षको एसईई परीक्षामा नियमितर्फ सबैभन्दा धेरै प्रदेश ३ बाट १ लाख ३ हजार ४ सय ६० विद्यार्थी सहभागी हुँदै छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट ३२ हजार ३ सय ४४ परीक्षार्थी छन् । प्रदेश १ बाट ७९ हजार ७ सय १९, प्रदेश २ बाट ६४ हजार ८ सय ६८, गण्डकी प्रदेशबाट ४६ हजार ५ सय ७१ परीक्षार्थी छन् । त्यसैगरी प्रदेश ५ बाट ७३ हजार २ सय ८५ र प्रदेश ७ बाट ४९ हजार ९ सय ३९ ले परीक्षा दिँदै छन् । 

परीक्षालाई लिएर देशभर सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । हरेक केन्द्रमा केन्द्राध्यक्ष, परीक्षा नियन्त्रक र गार्ड ताेक्ने तथा आवशयकताअनुसार सुरक्षाकर्मीसमेत परिचालन गरिएकाे छ । परीक्षाकाे क्रममा अभद्र व्यवहार गरिएकाे भेटिएमा कानुन बमाेजिम कारबाही गर्न सुरक्षा निकायलाई छुट दिइएकाे छ । 

यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् । परीक्षार्थीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा रहेका छन् ।

परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश ३ बाट १ लाख ६ सय २ परीक्षार्थी सहभागी हुन लागेको जानकारी दिए । त्यसैगरी, सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी सहभागी हुँदैछन् । 

त्यस्तै प्रदेश १ बाट ८३ हजार ८ सय १८, प्रदेश २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर १ हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने १ हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।

मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरिद लगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।

उनले यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताए। परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उनले जानकारी दिए ।

परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाईले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन्। गतवर्ष ४ प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिए । परीक्षामा साधारणतर्फको अनिवार्य ६ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

प्रतिकृया दिनुहोस