श्रीमती र छोरीका लागि साउदीबाट भरिएको झोला ल्याएर खुशी हुँदै घर पस्दा...

Saudi


राजविराज । सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका डंग्राहीका ३० वर्षीय सूर्यनारायण मण्डल श्रीमतीको खुशी र सन्तानको राम्रो भविष्यको सपना बुनेर विदेशिएका थिए ।

उनको घरमा २५ वर्षीया श्रीमती रानीदेवी र साढे एक वर्षीया छोरी प्रमिलालाई थिए ।

भिसाको अवधि सकिएकाले दुई वर्षपछि घर फर्किदै गरेको कुरा उनले टेलिफोनबाट श्रीमतीलाई सुनाएका थिए । खुशी हुँदै घर पसेका उनी एक साथ आश्चर्य र चिन्तामा परे ।

श्रीमती र छोरीका लागि साउदी अरबबाट भरिएको झोला ल्याउँदा उनको घर भने रित्तिसकेको थियो । मण्डलको सपना घर फर्किदा चकनाचुर भइसकेको थियो ।

सूर्यनारायण घर आउनु चार दिन अघि नै उनीहरु बेपत्ता थिए । सूर्यनारायणले ससुराली, इष्टमित्र, आफन्त सबैतिर खोजे ।

केही पत्तो नलागेपछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा ०७३ साउन ३० गते खोजतलाशका लागि हुलिया जाहेरी दिए । जाहेरी अनुसार सोही दिनदेखि जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु गर्यो ।

अनुसन्धानकै क्रममा रानी र शिवशंकरलाई प्रहरीले काठमाडौंबाट ०७३ असोज १२ गते फेला पार्यो ।

सूर्यनारायणले फोन गरेकी दिन श्रीमती प्रेमी राजगढ गाउँपालिका मलेकपुर गाविस-१ का २९ वर्षीय शिवशंकर मालीसँग काठमाडौं भागेकी थिइन् ।

तत्कालीन एसपी भिम ढकालका अनुसार श्रीमान् आउने भएपछि प्रेमीसँगको सल्लाहमा दुबै जना घर छाडेर भागेका रहेछन् ।

प्रेमीसँग भागेको कुरा सूर्यनारायणले जसोतसो सहने हिम्मत जुटाइरहेका थिए । त्यसैबीचमा केही दिनपछि आरोपितले सरकारी वकिल र प्रहरीसमक्ष दुधे बालिकाको हत्या गरेको स्वीकार गरे । यो कुराले सूर्यनारायण मात्र नभई सिंगो गाउँ स्तब्ध बन्यो ।

पक्राउ परेका आरोपित तत्कालीन जिल्ला न्यायाधीश राजेश काफ्लेको आदेशले ०७३ कात्तिक ८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

बालिकाको हत्या गरी राजविराज-हनुमाननगर सडकखण्डमा रहेको खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएको भन्दै जिल्ला अदालत, सप्तरीले ०७५ फागुन १५ गते दुबै आरोपितलाई जन्मकैद सजायको अन्तिम फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाका अनुसार बालिकाको हत्यापछि शव दबाउने अभिप्रयाले खोलामाा बगाएकाले उनीहरुलाई ६ महिना कैद थप गरिएको छ ।

भागी विवाह गरेकी रानी मालीसँगै जेल परेपछि दुई वर्षअघि सूर्यनारायणले गाउँकै अमेरिकादेवीसँग विवाह गरेर नयाँ जीवन सुरु गरेका छन् । जसबाट एक वर्षीया छोरी छन् ।

रानीतर्फका छोरी आठ वर्षीया प्रतिभा र छोरा ६ वर्षीय प्रदिपको पालनपोषण अमेरिकादेवीले गरिरहेकी छन् ।

सूर्यनारायण भने फेरि विदेशिएका छन् । केही वर्ष दुःख गरेर कमाइ ल्याएको रुपैयाँले ऋण तिर्ने र पछि आफ्नै ठाउँमा व्यवसाय गर्ने भन्दै एक वर्ष अघि उनी साउदी अरब हानिएको भाइ दिपेन्द्रले बताए ।

प्रतिकृया दिनुहोस