मकवानपुरमा अज्ञात समूहद्धारा ट्रकमा आगजनी, सवारी ठप्प

Aglagi truck

मकवानपुर । मकवानपुरमा बुधबार राति अज्ञात समूहले ट्रकमा आगजनी गरेको छ ।

काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा जंगलबीचमा ट्रकलाई रोकेर घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ ।

ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए ।

आगजनीबाट ट्रकको टेलरमा क्षति भएको एसपी सिंहले जानकारी दिए ।

‘विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको कारण उनीहरुले नै त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने, ‘जिल्लाको अन्य स्थानहरुमा भने दैनिकी सामान्य रहेको छ ।’

प्रदेश ३ को राजधानी हेटौंडा र मुख्य राजमार्गहरुमा भने बिहानैदेखि सवारी ठप्प भएका छन् । फाट्टफुट्ट मात्र सवारी चलेका छन् ।

प्रतिकृया दिनुहोस