मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ

Pakrau 11

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो ।

दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का विमलप्रसाद न्यौपाने र दैलेख आठबिसकोट–५ का अर्जुन शाहीलाई विभिन्न समयमा चोरी भएका चार थान मोटरसाइकलसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनीहरुबाट यूपी ३२ जेपी १७३९ नंको रोयल इनफिल्ड, भ ४ प ४०२० नंको २२० सिसीको पल्सर, लु ४० प ९८५१ नंको २२० सिसीको पल्सर र यूपी ३२ जेपी ६५५० नंको २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरी निरीक्षक डाँगीले बताए ।

उनका अनुसार, उक्त गिरोहले २२० सिसीको मोटरसाइकलमै धेरै आँखा लगाउने गरेका थिए । त्यसरी चोरी भएका मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीले बरामद गरेका मोटरसाइकल पनि विभिन्न जिल्लाबाट झिकाएको हो ।

सेतुविक चोकमा रोयल इनफिल्ड चोरी गर्दागर्दै न्यौपानेलाई फेला पारी मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएपछि नेपालगञ्जबाटै बर्दिया मधुवन–६ बस्ने यमबहादुर घर्तीको भे ४ प ४०२० नंको २२० सिसीको पल्सर मोटरसाइकल, प्रीतम गुरुङको लु ४० प ९८५१ नंको २२० सिसीको पल्सर मोटरसाइकल, नेपालगञ्ज–११ विपी चोक बस्ने मोहम्मद रजा जसगढको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको थियो ।

ती उजुरीका विषयमा प्रहरीले न्यौपानेलाई सोधपुछ गर्दा घटनामा विमलप्रसाद न्यौपाने र अर्जुन शाहीको समेत संलग्नता रहेको र अन्य मोटरसाइकल दैलेख, सुर्खेत र कैलालीलगायतका जिल्लामा बिक्री गर्नको लागि लुकाइछिपाइ राखेको खुलेको थियो ।

प्रहरीले सक्रियता बढाई अन्य चोरी गर्ने व्यक्तिको पहिचान गरी मोटरसाइकलको खोजतलास गर्ने क्रममा ती मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट नम्बरप्लेट बदली गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस