कैलालीको बढैपुर जंगलमा बसमा आगजनी, ३ जना बन्दकर्ता नियन्त्रणमा

Bus aagjani

कैलाली । नेत्रविक्रम चन्द नेतृत्वका कार्यकर्ताहरुले कैलालीको बढैपुर जंगलमा बसमा आगजनी गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेका हुन् ।

बसमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको थियो । आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा बसमा आगजनी गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका लागि हिडेका बसहरुलाई रोक्दै गरेका तीन जना बन्दकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।सुदुरपश्चिमको तराईलाई पहाडी जिल्लासग जोड्ने भीमदत्त राजमार्गको गोदावरी सडक खण्डमा किन गाडी चलाएको भन्दै रोक्न खोज्ने तीन जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाका अनुसार बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिकृया दिनुहोस