१ सय ५ व्यवसायी कारबाहीमा, २५ लाख असुली

5anugaman toli

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १ सय ५ व्यवसायको अनुगमन गरी कारबाहीस्वरूप २५ लाख रुपैयाँ असुल गरेको छ। विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले बुधबार पत्रकार सम्मेलन गरी गत कात्तिकदेखि लागू भएको नयाँ ऐन पालना गर्दै कारबाहीस्वरूप उक्त रकम असुल गरेको जनाएको छ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत असोजसम्मको अनुगमनमा अधिकृतले अनुगमनस्थलमा नै कारबाही गर्न मिल्ने व्यवस्था नभएको बताए। नयाँ ऐनअनुसार गत कात्तिकदेखि अनुगमन अधिकृतले गलत सावित गरे आवश्यकतानुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने कानुनी व्यवस्था छ।

उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने व्यवसायमा विभागले चालू आवमा २ हजार ८ सय व्यवसाय अनुगमन गर्ने लक्ष्य लिए पनि हालसम्म १ हजार ३ सय ८१ को मात्रै अनुगमन गरिएको छ। गत आवमा भने विभागले काठमाडौं उपत्यका र बाहिर गरी ५ हजारको अनुगमन गरेको थियो। प्रदेश र स्थानीय तहमा अझै कानुन नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न केही समस्या भएको विभागले जनाएको छ।

उपभोक्ता जागरण कार्यक्रम

हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ। सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो।

दिवसकै अवसर पारी विभागले आज उपभोक्ता संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाका कोटेश्वर, लगनखेल, महाराजगञ्ज, कलङ्की, बालाजु, चाबहिल, रत्नपार्क, कालीमाटी, नयाँ बानेश्वर, सातदोबाटो र भक्तपुरका विभिन्न स्थानमा उपभोक्ता जागरणसम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको छ।

आगामी चैत १ गते विभागले भने विशेष कार्यक्रम गर्ने बताइएको छ। 

प्रतिकृया दिनुहोस